चाँगुनारायण नगरपालिकाको १४ औ अधिवेशन सम्पन्न

भक्तपुर, पुस २१
चाँगुनारायण नगरपालिका नगरसभाको १४ औ अधिवेशन शुक्रवार सम्पन्न भएको छ । अधिवेशनले चार वटा विधेयक, लेखा समितिको प्रतिवेदन र एक वटा ऐन संशोधनको प्रस्ताव पारित गरेको छ ।
अधिवेशनले विधेयक समितिका संयोजक जयन्द्र खड्काले प्रस्तुत गर्नुभएको चाँगुनारायण नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने विधेयक २०८०, चाँगुनारायण नगरपालिकाको ऐन कानून तर्जुमा र व्यवस्थापन गर्ने सम्बन्धी विधेयक २०८० सर्वसम्मतले पारित गरेको प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले बताउनुभयो ।
यसैगरी अधिवेशनले उपप्रमुख रमेश खड्काले सभामा पेश गर्नुभएको चाँगुनारायण नगरपालिकाको विनियोजन ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक, आर्थिक विकास समितिका संयोजक श्याम सुन्दर धिमालले पेश गर्नुभएको चाँगुनारायण नगरपालिकाको आर्थिक ऐन २०८० मा राजश्वका शीर्षक थप गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
यस्तै वन, वतावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सोम प्रधानले सभामा पेश गर्नुभएको चाँगुनारायण नगरपालिका विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन, २०७५ लाई (पहिलो) संशोधन गर्न बनेको विधेयक २०८० र लेखा समितिका संयोजक धन बहादुर लामाले पेश गर्नुभएको बेरुजु फस्र्योट सम्बन्धी लेखा सिमितिको प्रतिवेदन समेत पारित गरेको पन्थीले जानकारी दिनुभयो ।


अधिवेशनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र विनियोजित बजेटका बारेमा पनि समिक्षा गरेको नगरप्रमुख जीवन खत्रीले बताउनुभयो । उहाँले नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह सुचारु भई सकेकोले सेवालाई प्रविधिमैत्री वनाई अझै सरल, सहज र सुलभ रुपमा सबै नगरवासीको पहुंच स्थापित गर्न प्रतिवद्धा जनाउनुभयो ।
भौतिक पूर्वाधार विकास तर्फ मूलपानी चाँगु, छालिङ नाटेश्वरी हुदै नगरकोट निक्लने बाटो, सैनिक व्यारेक देखि छालिङ जोड्ने सडक कालोपत्रे, दुवाकोट मूल सडक कालोपत्र कार्य प्रारम्भ भई सकेको जानकारी दिँदैं उहाँले चाँगुनारायण फाष्ट ट्रयाकको निर्माण कार्य अघि बढेको र खस्याङ खुसुङ–घट्टेखोला करिडोर निर्माणको कार्य प्रारम्भ हुने चरणमा रहेको बताउनुभयो ।
नगरकोट सडक, वीर अस्पतालको लागि निर्माण गरिएका दुवाकोट सडक जस्ता ठूला योजनाहरु चाहँदा चाहँदै र अनेक एकल प्रयासका बाबजुद समयमा सम्पन्न गराउन नसकिएको बताउँदैं उहाँले विश्व सम्पदा सूचिमा सूचिकृत ऐतिहासिक एवं पुरातात्वतिक महत्वको चाँगुनारायण मन्दिरको बृहत्तर गुरु योजना निर्माण गरी यस क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्य वनाउने तर्फ अग्रसर रहेको उल्लेख गर्नुभयो ।
उहाँले नगरवासीहरुलाई घर दैलोसम्म गुणस्तरीय सेवा पु¥याउन, कृषि र पर्यटन प्रवद्र्धन गरी नगरकोट पर्यटन बर्ष २०८२ लाई सफल बनाउन एकढिक्का भई लाग्न सम्पूर्ण नगरवासी समक्ष आग्रह समेत गर्नुभयो ।


अर्धवार्षिक समीक्षा पेश गर्दै उपप्रमुख रमेश बुढाथोकीले हालसम्म ३३ वटा विकास निर्माण सम्बन्धी योजनाहरु ठेक्का प्रक्रियामा गएको जानकारी दिनुभयो । उहाँले आ. व. २०८०÷०८१ मा आन्तरिक राजस्वतर्फ २४ करोड १६ लाख २५ हजार संकलन गर्ने गरि आन्तरिक राजस्व प्रक्षेपण गरेकोमा पौष महिनाको १९ गते सम्म ८ करोड ५० लाख रुपैंया संकलन भएको बताउनुभयो ।
उपप्रमुख बुढाथोकीले निःशुल्क स्वास्थ्य विमा कार्यक्रम मार्फत पहिलो त्रैमासिकमा २३ लाख ६४ हजार २ सय ५० रुपैयाँ भुक्तान भएको जनाउँदैं मंसिर महिना भित्र नगरपालिका भित्र रहेका दीर्घरोगीका लागि मासिक ५ हजार रुपैयाँका दरले औसधि उपचार खर्च बापत ३९ लाख १९ हजार ५ सय रुपैयाँ भुक्तान भएको बताउनुभयो ।
यसैगरी यस आर्थिक वर्षमा हाल सम्म जम्मा १०५ वटा व्यवसाय दर्ता भएको, चालु आ.वमा सामाजिक सुरक्षा भत्ता प्रथम त्रैमासिक किस्तामा समावेश ४ हजार ३ सय १९ जना लाभग्राहीलाई ४ करोड ३७ लाख ८७ हजार ६ सय ३५ रुपैयाँ बैंक मार्फत रकम भुक्तानी गराएको बुढाथोकीले बताउनुभयो ।