‘सँझ्याः साहित्य’मा तीन पुस्ताका कविता वाचन

भक्तपुर, पुस २२
‘सँझ्याः साहित्य’ भक्तपुरले शनिवार आयोजित सँइया साहित्य तीन पुस्ता, कविता र सम्मान कार्यक्रममा ४० देखि ६० को दशकका तीन कविले कविता सुनाएका छन । कार्यक्रममा ४० को दशकको प्रतिनिधित्व गर्दै कवि विप्लव ढकाल, ५० को दशकको प्रतिनिधित्व गर्दै कवि अभय श्रेष्ठ र ६० को दशकको प्रतिनिधित्व गर्दै कवि सामना पहाडले कविता सुनाउनु भएको हो ।
कवि विप्लवले पहिलो चरणमा ‘म अज्ञात सहिद आएको छु’ र ‘खस्रो पात’, अभय श्रेष्ठले ‘एउटा प्रेम कथा’ र ‘गोली दागिएको बालकको सम्झना’ र कवि सामना पहाडले ‘समय, रङ र मान्छे’ र ‘जिन्दगी एक रिक्सा’ शीर्षक कविता प्रस्तुत गर्नुभयो ।
दोश्रो चरणमा कवि ढकालले ‘तिमी आएपछि’ र ‘भ्यागुताको विह’े, कवि श्रेष्ठले ‘मुक्ति’ र दुई छोटा कविता ‘रूख र पात’ र ‘आधार’ कविता सुनाउनुभयो भने कवि पहाडले ‘पूर्ण लोग्ने मान्छे’ र ‘मौनताको औजार’ सुनाउनुभएको थियो ।


कविता प्रस्तुतिको अन्तिम चरण अथवा तेस्रो चरणमा कवि सामना पहाडले ‘जीवन एक जलचक्र’, कवि श्रेष्ठले ‘सत्यलाई साक्षी’ र कवि ढकालले नयाँ कविता ‘जेब्राक्रसमा जङ्गेपिलर’ प्रस्तुत गर्नुभएको थियो ।
प्रत्येक महिनाको तेस्रो शनिबार सञ्चालन हुने समावेशी काव्यिक कार्यक्रम र सभ्य र गुणात्मक कार्यक्रमको नमूना सँझ्या साहित्यका सहआयोजक चाक्ला फल्चा, द फल्चा फर क्रियटिभ डिस्कसन र मध्यपुर थिमिको शंखधरचोकस्थित द बिन्ज एन्ड बाइट्ज क्याफे रहेका छन् ।
वि. सं. २०७१ सालको मंसिरको तेस्रो हप्तादेखि शुरु भएको कार्यक्रम सँझ्या साहित्यले प्रत्येक महिना वर्ग, विचार र लैङ्गिक प्रतिनिधित्वमा समावेशी हुने गरी संविधानको मूल मर्म अनुसार कार्यक्रमलाई समतामूलक र गुणात्मक बनाउने लक्ष्यसहित अघि बढिरहेको कवि रामगोपाल आशुतोषले बताउनुभयो ।