मध्यपुर थिमिमा सकियो नवदुर्गा नाच

भक्तपुर, पुस १६
भक्तपुरको ऐतिहासिक एव्म धार्मिक महत्वको तान्त्रिक विधियुक्त नवदुर्गा देवगणको मध्यपुर थिमिमा नाच प्रदर्शन एक सातापछि सोमवार सम्पन्न भएको छ । गत पुस १० गते यःमरी पुन्हीको दिनदेखी शुरु भएको नाच प्रदर्शन सोमवार साँझ मरुटोल र बालकुमारी प्राङ्गणमा बाराही नाच, सिम्हादुम्हा ङालाकेगु नाच, महाकाली नाच, श्वेत भैरव ङालाकेगु जात्रापछि आरती गरी सम्पन्न भएको हो ।
एक साताको अवधीमा देवगणले परम्परा अनुसार मध्यपुर थिमिको चपाचो, भुँलाखेल, नगदेश, बोडे, दथुटोल, मरुटोल, वप्पा महादेव परिसर, बालकुमारी प्राङ्गण रसूर्यविनायक नगरपालिका ४ दधिकोटस्थित गाम्चा र चित्रपुरमा नाच प्रदर्शन गरेका थिए । नवदुर्गा देवगण एक साताको थिमि बसाईका क्रममा बालकुमारीस्थित नवदुर्गा द्य छें (देवघर)मा बस्ने परम्परा रहेको छ ।
मुख्यतया नगदुर्गा देवगणमा बाजागाजासहित १९ जनाको समूह हुन्छ । जसमध्ये १३ जना विभिन्न देवी देवताहरु हुन्छ । नगदुर्गा देवगणमा पित्तलको सानो मन्दिर हुन्छ जसलाई सिफोद्यः(महालक्ष्मी को प्रतिक) भनिन्छ । यो देवगणमा भैरव(कालभैरव) १, महाकाली १, बाराही १, ब्रम्हायणी १, महेश्वरी १, कुमारी १, वैष्णवी १, ईन्द्रायणी १, गणेश १, महादेव १, श्वेतभैरव १, सिम्ह दुम्ह (नन्दी भृंगी) २ गरी १३ वटा मुकुण्डो प्रयोग गरी नाच प्रदर्शन गरिन्छ भने खिं बाजा, ताः बाजा, कायँःबाजा, महापात्र र नकींगरी १९ जनाको समूह हुन्छ । त्यसमा अन्य सहयोगीहरु समेत थप हुन्छ ।
नवदुर्गा देवगणलाई मध्यपुर थिमिमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतका जनप्रतिनिधिहरुले स्वागत सत्कार गरेको थियो । सोही अनुसार सोमवार नगरपालिकाको तर्फबाट नगरप्रमुख र उपप्रमुखलगायतका जनप्रतिनिधिहरुले पुजाआजा गरी बिदाई गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।