मिसन २०८४ होइन, देश बनाउने चिन्ता गरौं – महामन्त्री शर्मा

भक्तपुर, पुस १६
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिसन २०८४ भन्दै चुनावको भन्दा मुलुकको समृद्धिको चिन्ता गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुरको संगठन शाखाले ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा महामन्त्री शर्माले आउँदो निर्वाचनको चिन्ता छाडेर राजनीतिक दलहरु देश बनाउने साझा संकल्पका साथ अगाडि बढ्नु आवश्यक भएको बताउनुभएको हो ।
“मिसन २०८४ भन्दै आउने निर्वाचनको चिन्ता छोडौं । देश बनाउने र मुलुकलाई समृद्ध बनाउने साझा संकल्पका साथ अगाडि बढौं,” उहाँले भन्नुभयो । उहाँले विकास निर्माणको खाकासहित भिजन ९४ बोकेर कार्यान्वयन गर्न सबै राजनैतिक दल लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले एउटै पदमा पटक पटक एउटै व्यक्ति दोहोरिने व्यवस्था अन्त्य हुनुपर्ने बताउँदैं ‘राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चारपटकभन्दा बढी दोहोरिन दिन हुँदैन’ भन्नुभयो ।


संविधान सहमतिको साझा दस्तावेज भएको उल्लेख गर्दै उहाँले दलबीचको सहकार्यले शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी संविधानप्रति अपनत्वको दायरा बढाउँदै सम्मुन्नतिको यात्रामा लम्कनुपर्ने बताउनुभयो ।
महामन्त्री शर्माले ठुलो जनसंख्याका कारण नेपाली विदेश जाने अबस्थालाई रोक्ने र विदेशमा रहेका नेपाली तत्काल फर्क भन्ने अबस्था नरहेको भन्दै बरु वैदेशिक राजगारीको मर्यादा अभिबृद्धि गर्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोईरालालाई एमाले, माओवादी केन्द्रले मात्र नभई स्वयं नेपाली कांग्रेसले समेत चिन्न र बुझ्न ढिलाई गरेको उहाँको भनाई छ । बीपीको मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै उहाँले बिपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सार्नुभएको दृष्टिकोण अहिले पनि उत्तिकै अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।


उहाँले देश विकासको कार्य निरन्तर भइरहेको भन्दै केही भएन भन्ने हल्लामा सत्यता नभएको बताउनुभयो । “देशमा केही नभएको हल्ला गरेपनि विकास भइरहेको छ । देश विकासका लागि अझै गर्नुपर्छ र गर्न सकिन्छ भन्ने विश्वास जगाउनु पर्ने छ । गाली गरेरमात्र देश बन्दैन, समन्वय गरेर देश बन्छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले विपीले तत्कालिन समयमा ज्यानको परवाह नगरी लोकतन्त्रको स्थापनाको लागि मेलमिलापको नीति अंगालेको बताउनुभयो । उहाँले विपीलाई यथास्थितीवादी भन्नेहरु नै अन्त्यमा उनीसँग सहकार्य गर्न बाध्य भएको चर्चा गर्दै मेलमिलापको नीति बमोजिम नै नेपालमा प्रजातन्त्र पुनःस्थापना भएको बताउनुभयो ।
संगठन शाखाका संयोजक रामेश्वर ध्वजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला उपसभापति विजेश अवाल, पुर्व जिल्ला सभापति गणेशमान चक्रधर, शाखाका सचिव नरेश श्रेष्ठलगायतले कांग्रेसले विपीको विचार, सिद्धान्त अनुसार सबै दलसँगको सहकार्यमा लोकतन्त्रलाई सुदृढ बनाउन लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।