भक्तपुरको नवदुर्गा देवगण नाच मध्यपुर थिमिमा प्रदर्शन

भक्तपुर, पुस १०
भक्तपुरको ऐतिहासिक एवम् धार्मिक महत्वको नवदुर्गा देवगण नाच मध्यपुर थिमिमा प्रदर्शन गरिएको छ । देवगणले मंगलवार थिंला पुन्ही अर्थात यःमरी पुन्हीको दिन मध्यपुर थिमिको दिगुटोलमा नाच प्रदर्शन गरेको हो ।
भक्तपुरको नवदुर्गा देवगण नाच देखाउन काठमाण्डौं उपत्यकाका विभिन्न स्थानका साथै काभ्रेपलाञ्चोकको बनेपा, पनौती, शंखुलगायतका स्थानमा जाने परम्परा रहेको छ । यसैक्रममा यःमरी पुन्हीको दिन मध्यपुर थिमि आउने परम्परा अनुसार नवदुर्गा देवगण थिमि आएर नाच प्रदर्शन गरेको हो ।


देवगण अको एक साता मध्यपुर थिमिमा रहने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार एक साता मध्यपुर थिमिको बालकुमारीमा रहेको नवदुर्गा द्यो छेंमा बसेर देवगणले नगरका विभिन्न स्थानमा नाच प्रदर्शन गरी जात्रा सञ्चालन गर्नेछ ।
नवदुर्गा देवगणले पुस ११ गते चपाचोमा प्यमा द्यो नाच, १२ गते भुँलाखेलमा प्यमा द्यो नाच र खाँ प्याखँ प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । यसैगरी पुस १३ गते नगदेश र बोडे, पुस १४ गते दथुटोल, १५ गते चित्रपुर, मरु टोल र वप्पा महादेव क्षेत्रमा मुँ वाहन लिकेगु नाच प्रर्दशन गर्नेछ । अन्तिम दिन पुस १६ गते मरुटोल र बालकुमारी प्राङ्गणमा बाराही नाच, सिम्हादुम्हा न्यालाकेगु नाच, महाकाली नाच, श्वेत भैरव न्यालाकेगु जात्रापछि आरती गरी जात्रा समापन गर्ने कार्यक्रम रहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।


यसैबीच मध्यपुर थिमि नगरपालिकाले नवदुर्गा देवगणको विशेष पुजा अर्चना गरेको छ । देवगणलाई मध्यपुर थिमिमा स्वागत गर्दै नगरप्रमुख श्रेष्ठको नेतृत्वमा उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडाअध्यक्षहरु, वडासदस्यहरु र पूर्व जनप्रतिनिधिसहितको टोलीले नवदुर्गा देवगणको पुजा गरेको हो ।