सरकारले सोचे अनुरुप सफलता हात पार्न सकेन ः नेका नेता विश्वकर्मा

भक्तपुर, पुस ११
नेपाली कांग्रेसका सूचना तथा प्रचार प्रसार विभाग प्रमुख मिन विश्वकर्माले गठबन्धको सरकारले सोचे अनुरुप सफलता हात पार्न नसकेको बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरमा आयोजित सञ्चार संवाद कार्यक्रममा विश्वकर्माले विगतका सरकारले भन्दा गठबन्धनको सरकारले केही काम गरेता पनि सोच अनुरुप काम गर्न नसकेको बताउनुभएको हो ।
उहाँले वर्तमान सरकारले भ्रष्टाचारको फाइल खोल्छु भन्नु, फाइल खोल्ने नियमन गर्ने कार्यालय चुप लागेर बस्ने र जनता भ्रष्टाचार भइरहयो भनेर कराइरहने यी विषयमा तालमेल नमिलेको बताउनुभयो ।
बजारमा चलेको हल्ला अनुसार अर्थतन्त्रको अवस्था डामाडोल नभएको र क्रमिक रुपमा सुधार हुँदै गएको बताउँदै उहाँले भन्नुभयो, “अर्थतन्त्र परनिर्भताकै कारण सोचे अनुसार सुधार हुन सकेको छैन ।”
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राष्ट्रको नाममा सम्बोधन गर्दै मन्त्री फेरबदल गरेर भएपनि आफ्नो कार्यकाल सफल बनाउँछु भन्नु सकारात्मक सन्देश रहेको र सोचे अनुरूप काम हुन नसकेको आफैले बताएको बेला धेरै टिका टिप्पणी गर्नु नहुने बताउनुभयो ।
पुराना राजनितिक दलहरुलाइ आक्षेप लगाएर गणतन्त्रको उपलब्धीमा प्रश्न उब्जाउनेहरूले देशमा अराजकता फैलाउन खोजेको उहाँको आरोप छ । गठबन्धनको सरकार निर्माण पश्चात कुटनीतिक पाटो सबल बन्दै गएको र केहि सुधारको पक्ष देखिएको पछिल्ला अन्तराष्ट्रिय स्तरमा नेपाल सरकारले जनाएको उपस्थितिबाट प्रष्ट भएको विश्वकर्माको भनाई छ ।
उहाँले लुम्बिनी प्रदेशको नवनियुक्त उद्योग मन्त्रीका विषयमा अनावश्यक मिडिया वाजी गरेर चरित्र हत्या गर्न नहुने बताउनुभयो । “जनताले प्रदेशसभा सदस्य जिताएर पठाउँदा सम्म कसैले केहि नभन्ने, जनताले अनुमोदन गरेर पठाएका प्रदेश सभा सदस्यमाथि मन्त्री बन्नासाथ अनावश्यक आरोप लगाएर, मिडियावाजी गरेर चरित्र हत्या गर्नु हुँदैन ।”