प्रजातान्त्रिक जनस्वास्थ्य संघ नेपालको अध्यक्षमा विन्जवला निर्विरोध निर्वाचित

भक्तपुर, पुस १०
प्रजातान्त्रिक जनस्वास्थ्य संघ नेपालको अध्यक्षमा विन्जवला श्रेष्ठ निर्विरोध निर्वाचित भएको छ । संघको मंगलवार सम्पन्न तेस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा नरेश बाबु श्रेष्ठ, उपाध्यक्षहरुमा वृज कुमार दास, दया कृष्ण पन्थ, तुलसी सुवेदी, महासचिवमा विनोद जोशी, उपमहासचिवमा श्रीकृष्ण बस्नेत, सचिवमा निराजन पोखरेल, कोषाध्यक्षमा रागी श्री कक्षपति र सहकोषाध्यक्षमा रणधिर कुमार यादव निर्विरोध निर्वाचित भएको छ ।
यसैगरी सदस्यहरुमा प्रकाश कुमार बिष्ट, धिरजंग शाह, डा. प्रकाश ज्ञवाली, ईन्द्र आचार्य, शिला शर्मा, जितनारायण यादव र किरण श्रेष्ठ निर्विरोध चयन भएको निवर्तमान अध्यक्ष महेश्वर श्रेष्ठले बताउनुभयो ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेसका पुर्व महामन्त्री एवम् सांसद शंशांक कोइरालाले नेतृत्व सुध्रिनु पर्छ भन्ने जनताको मतलाई स्विकार गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सबैले सुध्रिनु पर्छ भनेपछि सुध्रिएर जानुपर्छ भन्ने मलाई पनि लागेको छ ।”


उहाँले कांग्रेस कहिल्यै पनि कमजोर बन्न नसक्ने बताउँदैं निर्वाचनमा कांग्रेसलाई अरुले नभई कांग्रेसले नै हराउने गरेको टिप्पणी गर्नुभयो ।
उहाँले नेपालको भविष्य अत्यन्त राम्रो रहेको जिकिर गर्दै भन्नुभयो, “नेपालका १७ लाख हेक्टर खेतीयोग्य जमीन भएको छ । यसले ३० करोड जनतालाई पाल्न सक्छ । भेरी, बबई र सुनकोसी डाइभर्सनको निर्माण पछि नेपालको कृषि क्षेत्रमा ठूलो अवसर सिर्जना हुन्छ ।”
उहाँले सरकारले पनि कृषि क्षेत्रलाई प्रथमिकतामा राखेर बजेट विनियोजन र योजना सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।
संघका अध्यक्ष महेश्वर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. अनिता शाह, संघका पूर्व अध्यक्षहरु, नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे, महासचिव दिपक भट्टलगायतले धारणा राखेका थिए ।