मध्यपुर थिमि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा आदर्श सानो थिमि च्याम्पियन

भक्तपुर, पुस ८
सानो थिमिस्थित आदर्श माध्यामिक विद्यालय मध्यपुर थिमि नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० मा च्याम्पियन बनेको छ । मध्यपुर थिमि नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको तीन दिने प्रतियोगितामा आदर्श १० स्वर्ण, ७ रजत र ९ कास्यसहित कुल २६ पदकका साथ च्याम्पियन बनेको हो ।
आदर्श सानो थिमिले एथलेटिक्समा ७ स्वर्ण, मार्सल आर्टसतर्फ तेक्वान्दोमा एक स्वर्ण, छात्रा भलिबल र कबड्डीमा एक एक स्वर्ण जितेको शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
प्रतियोगितामा सुप्रिम एकेडेमी ९ स्वर्ण, ७ रजत र १६ कास्यसहित दोस्रो भयो । सुप्रिमले मार्सल आर्टसतर्फ तेक्वान्दोमा २, कराँतेमा १ र उसुमा ६ स्वर्ण जितेको थियो । यसैगरी आदर्श मावि लाय्कु थिमि ५ स्वर्ण ११ रजत र २ कास्यसहित तेस्रो भए ।


प्रतियोगिताको अन्तिम खेलको रुपमा छात्र भलिबलको फाइनल खेलाईएको थियो । सो खेलमा जनप्रेमी वल्र्ड स्कुल कौशलटारले गणेश मावि नगदेशलाई २–० सेटले पराजित गर्दै स्वर्ण जिते । प्रतिष्पर्धात्मक बनेको भलिबल फाइनलको पहिलो सेट जनप्रेमीले २०–२५ ले जिते । एक समय १७–१९ ले पछि परेको जनप्रेमीले लगातार ७ अंक बटुल्दै खेललाई २४–१९ मा पुर्याएका थिए । त्यसपछि गणेशले एक अंक बटुलेर खेल २०–२४ मा पुर्रयाएपनि खेल जित्न सकेन ।
दोस्रो सेट थप प्रतिष्पर्धातम बनेको थियो । दुवै टोलीले अंक बटुल्ने क्रममा एकले अर्कोले उछिन्ने प्रयास गरेपनि अन्ततः जनप्रेमीले २५–२२ ले खेल आफ्नो पक्षमा पार्दै स्वर्ण जिते ।


विजेता विद्यालय र विद्यार्थीहरुलाई पुरस्कृत गर्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले खेलकुदले अनुशासन, नियम पालना गर्न सिकाउने भएकाले यसले अनुशासित र असल नागरिक उत्पादन मद्दत पुग्ने बताए । उनले खेलले राष्ट्रिय भावना समेत जागृत गर्ने भएकाले यसले राष्ट्रियताको संरक्षणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
उपप्रमुख विजयकृष्ण श्रेष्ठले फुटबलका पूर्व राष्ट्रिय गोलकिपर तथा कप्तान उपेन्द्रमान सिंह, सन्तोष साहुखल, बालगोपाल साहुखल, जीवन सिन्केमान, कराँतेका मण्डेकाजी श्रेष्ठलगायतका खेलाडी मध्यपुर थिमिको उत्पादन भएको उदाहरण प्रस्तुत गर्दै भविष्यमा पनि यस्तै खेलाडी उत्पादनका लागि राष्ट्रपति रनिङ शिल्डलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले भोलीको राष्ट्रिय खेलाडी अहिलेको विद्यार्थीहरुबाट नै उत्पादन हुने चर्चा गर्दै खेलाडीहरुले खेल अनुशासन र भावना अनुसार खेले सफलता मिल्ने बताए ।


कार्यक्रममा वडा नं. ८ का वडाअध्यक्ष रमेश थापा श्रेष्ठले असफलता नै सफलताको सिँढी भएकोले सफलताको लागि निरन्तरको प्रयास खाँचो रहने बताए ।
सो अवसरमा शसस्त्र प्रहरी बल २२ नं. गण गुह्येश्वरी दुवाकोटका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दिनेश महत, मध्यपुर थिमि नगरपालिकाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नेपाल पत्रकार महासंघ भक्तपुर अध्यक्ष जगतकृष्ण प्रजापति, प्याव्सन मध्यपुर थिमि नगरसमितिका अध्यक्ष निलेश आर्चायलगायतको सहभागिता रहेको थियो ।