कटुञ्जे सुवर्णेश्वर खानेपानीको २२ औं साधारण सभा सम्पन्न

भक्तपुर, पुस ७
कटुञ्जे सुवर्णेश्वर खानेपानी व्यवस्थापन उपभोक्ता समितिको २२ औं साधारण सभा शनिवार सम्पन्न भएको छ । सभाले समितिका अध्यक्षको वार्षिक प्रगती प्रतिवेदन र वार्षिक नीति तथा कार्यक्रम र बजेट तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन सुझावसहित सर्वसम्मत पारित गरेको छ ।
यसअघि सभाको उद्घाटन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरभित्रका खानेपानीको उपभोक्ता समितिहरुले नियमित साधारण सभा र आवधिक निर्वाचनमार्फत नयाँ नेतृत्व चयन नगरे नगरपालिकाले हस्तक्षेप गरी सम्बन्धित वडाका वडाअध्यक्षको अध्यक्षतामा उपभोक्ता समिति गठन गर्ने बताउनुभयो ।
उहाँले कतिपय समितिका अध्यक्षले खानेपानीलाई आफ्नो पेवा बनाएको भन्दै असन्तुष्टि समेत पोख्नुभयो । “समितिहरुले बेलैमा अधिवेशन गर्दैन भने त्यही वडाको अध्यक्ष नै त्यसको अध्यक्ष हुन्छ, नगरपालिकाले सोही अनुसार कार्यविधि बनाएर अघि बढ्छ” उहाँले भन्नुभयो ।
उहाँले कटुन्जे सुवर्णेश्वर खानेपानीलाई गत वर्ष २० लाख रुपैंया बजेट विनियोजन गरेर पाइपलाइन सुधारमा सहयोग गरेको बताउँदैं भविष्यमा पनि सम्बन्धित वडा र नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले मेलम्ची आयोजनासँग समन्वय गरेर नगरका वडा नं. १ देखी ६ सम्म पानी वितरणको लागि बृहत परियोजना शुरु गरिएको बताउँदैं नगरपालिका खानेपानीलाई प्राथमिकता दिएर एक घर एक धाराको लक्ष्य पूरा गर्न तर्फ अग्रसर रहेको दावी गर्नुभयो ।
उहाँले सूर्यविनायक नगरपालिकामा दलगतरुपमा नेकपा एमाले र कांग्रेसका उम्मेदवार निर्वाचित भएको भएतापनि दलगत स्वार्थ भन्दा माथि उठेर जनप्रतिनिधिको भावना अनुरुप कार्य भइरहेको बताउनुभयो । उहाँले नगरपालिकाको सेवा प्रवाहमा कुनै भेदभाव नगरिएको दावी गर्दै पारदर्शीता र सुशासनका लागि नीति, नियम, ऐन, कार्यविधि बनाएर त्यसैलाई अनुशरण गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सरिता तिमल्सिना भट्टराईले कटुन्जे सुवर्णेश्वर खानेपानी व्यवस्थापन उपभोक्ता समितिले उपभोक्तालाई लक्षित गर्दै बनाएको ‘मोबाइल एप्स’ शुभारम्भ गर्दै सूचना प्रविधिको वर्तमान युगमा आफ्ना उपभोक्तालाई मोबाइलबाटै समितिको काम कारवाही जानकारी गराउने, महसूल बुझाउन सकिने, गुनासो गर्ने र पानीको गुणस्तर समेत मापन गर्न सकिने सुविधायुक्त एप्सले उपभोक्ताको हित प्रवर्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
वडा नम्बर ५ का वडाध्यक्ष राजकुमार जोशीले खानेपानीको नयाँ स्रोत व्यवस्थापन र पाइपलाइन बिस्तारका लागि वडाले आवश्यक सहयोग गर्दै आएको र आगामी दिनमा गर्न तयार रहेको बताउनुभयो ।
यसैगरी वडा नम्बर ६ का वडाध्यक्ष ईश्वर थापा र ७ का वडाध्यक्ष रविन्द्र सापकोटा पनि कटुन्जे सुवर्णेश्वर खानेपानी व्यवस्थापन उपभोक्ता समितिका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो ।
वडा नं. ८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले कटुञ्जे सुवर्णेश्वरको खानेपानीको मुहान आफ्नो वडामा रहेको भन्दै स्रोतको व्यवस्थापनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
समितिका अध्यक्ष पूर्ण नेपाली बिसुंखेले समितिले २०५८ सालमा १९८ जना उपभोक्ताबाट शुरु भएको यो समितिले हाल एक हजार ७४ धारा वितरण गरिएको जानकारी दिनुभयो । उहाँले बढ्दो शहरीकरणले खानेपानीको माग अत्याधिक रहेको बताउँदैं खानेपानीको स्रोतमा सुधार एवम् व्यवस्थापनका लागि स्रोतहरुको उचित संरक्षण, सरसफाई, मर्मत, संरक्षण, नयाँ स्रोतका पहिचान गर्ने र सही व्यवस्थापन गर्दै जाने लक्ष्य समितिको रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा समितिका सचिव भरत संग्रौला, पूर्व अध्यक्ष धर्मराज कार्की, पूर्व प्रशासक विद्याप्रसाद आचार्य, सह सचिव दिपेश बिसुंखे लगायतले खानेपानी जन्मदेखी मृत्यु प्रर्यन्त अतिआवश्यक भएकोले यसको सुदुपयोग गर्ने, चुहावट नियन्त्रण गर्न र खानेपानीका स्रोत परिचालनमा समिति, उपभोक्ता र सरोकारवालाहरु सबैको उत्तिकै दायित्व र जिम्मेवारी रहेको बताउनुभयो ।