दोस्रो मध्यपुर थिमि नगरव्यापी राष्ट्रपति रनिङ शिल्ड शुरु, ३७ विद्यालयका १२२८ विद्यार्थी सहभागी(फोटो फिचरसहित)

भक्तपुर, पुस ६
दोस्रो मध्यपुर थिमि नगरव्यापी राष्ट्रपति रनिङ शिल्ड–२०८० शुक्रवारदेखी शुरु भएको छ । तीन दिन चल्ने प्रतियोगितामा नगरका ९ सामूदायिक र २८ संस्थागतसहित ३७ विद्यालयका एक हजार २२८ जनाले विभिन्न खेलका ५६ स्पर्धामा प्रतिष्पर्धा गरिरहेका छन ।
प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिका शिक्षाको गुणस्तरसँगै विद्यार्थीमा रहेको खेल प्रतिभालाई प्रस्फुटन गराई उनीहरुलाई जिल्ला, प्रदेश हुँदैं राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने योग्य बनाउन नगरपालिका तल्लिन रहेको बताए ।


उनले नगरपालिकाले आयोजना गरेको वडा लिगले नगरभित्र फुटबलको माहोल फर्काएको बताउँदैं यसवर्ष थप व्यस्थित तरिकाले प्रतियोगिता आयोजना गरिने जानकारी दिए ।
उनले राष्ट्रपति रनिङ शिल्डले विद्यालयमा खेलकुदको माहोल खडा गरेको बताए । प्रतियोगितामा केही विद्यालयलाई सहभागी नगराएको भन्ने गुनासोलाई स्पष्ट पार्दै नगरप्रमुख श्रेष्ठले केही विद्यालयले नगरपालिकाको शिक्षा नीति, ऐन नियम, निर्देशन पालना नगरेको र स्थानीय सरकार सञ्चालन ऐन एवम् राष्ट्रिय शिक्षा ऐनको प्रावधान समेत बेवास्ता गरिएकाले त्यस्ता विद्यालयलाई प्रतियोगितामा सहभागी नगराएको बताए ।


“नगरपालिकाको शिक्षा सम्बन्धी ऐन नियम नमान्ने, नगरपालिकाको निर्देशन अस्विकार गर्ने र नगरपालिकालाई गन्दै नगन्ने प्रवृत्ति देखाएको कारण केही विद्यालयलाई यसवर्षको राष्ट्रपति रनिङ शिल्डमा सहभागी नगराएको हो,” उनले भने ।
उनले खेलाडीहरुले खेल्न नपाएकोमा भने दुःख व्यक्त गरे । उनले भने, “विद्यालय सञ्चालकहरुको रवैयाका कारण केही प्रतिभावान खेलाडी खेल्न पाएन । यसमा नगरपालिका दुःखी छ ।” उनले नगरपालिकाको ऐन नियमभित्र आउन नचाहने, मुलुकको शिक्षा नीति, स्थानीय सरकार सञ्चालन ऐन र संघीय शिक्षा ऐनको व्यवस्था समेत नमान्ने विद्यालयलाई कानुन अनुसार कारवाही गर्ने चेतावनी समेत दिए ।
जिल्ला समन्वय समितिका उपप्रमुख सुजाता वादे बैद्यले विद्यालय स्तरीय प्रतियोगिता खेलाडी उत्पादन गर्ने प्रमुख थलो रहेको बताए ।


नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरपालिकाले शिक्षा, स्वास्थ्यसँगै खेलकुदलाई पनि उत्तिकै महत्व र प्राथमिकता दिएको बताए । उनले भविष्यका उत्कृष्ट खेलाडी आजको विद्यार्थीबाटै उत्पादन हुने बताउँदैं खेलाडीहरुलाई अनुशासित र खेल भावना अनुरुप खेल्न आग्रह गरे ।
जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दिपक थापाले जिल्लाका चार वटै पालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई निरन्तर सञ्चालन गर्नुले पालिकाहरु खेलकुद प्रति सकारात्मक रहेको स्पष्ट भएको बताए । उनले नगरस्तरीय पछि जिल्ला स्तरीय प्रतियोगिता गर्ने तयारी भइरहेको जानकारी दिए ।


नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विजय सुवेदीले नगरपालिकाले विकास निर्माणसँगै नागरिकको व्यक्तित्व विकास, क्षमता विकास र प्रतिभाको पहिचानका कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको बताए ।
नगर शिक्षा समिति संयोजक एवम् वडा नं.२ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठले खेल र खेलाडीको वृत्ति विकासका लागि नगरपालिकाले खेलकुदका कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने जानकारी दिए ।
प्रतियोगितामा भलिबल छात्रामा ७१ र छात्रमा ८७ जना विद्यार्थीहरुको सहभागिता रहेको छ । यसैगरी मार्सल आर्टको कराँतेमा ३१ छात्रा, ३२ छात्र, तेक्वान्दोमा २३ छात्रा, ३३ छात्र, उसुमा ३२ छात्र ३१ छात्रको सहभागिता रहेको शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र प्रसाद भट्टले जानकारी दिए ।


उनका अनुसार एथलेटिक्सतर्फ १०० मिटर दौडमा ४४ छात्रा ५९ छात्र, २०० मिटर दौडमा २५ छात्रा ४७ छात्र, ४०० मिटर दौडमा १६ छात्रा ३४ छात्र, ८०० मिटर दौडमा ११ छात्रा १९ छात्र, १५०० मिटर दौडमा ९ छात्रा २४ छात्र र ३००० मिटर दौडमा ५ छात्रा २१ छात्रको सहभागिता रहेको छ ।
एथलेटिक्सकै हाईजम्पमा ९ छात्रा १६ छात्र, लङजम्पमा १३ छात्र २७ छात्रा, त्रिपलजम्पमा ८ छात्रा १९ छात्रले प्रतिष्पर्धा गरिरहेको छ । यसैगरी सटफुटमा १९ छात्रा ३२ छात्र, ज्याभलिन थ्रोमा १२ छात्रा २५ छात्रको सहभागिता रहेको छ ।
प्रतियोगिताका एथलेटिक्सका खेलहरु सानोथिमिस्थित मध्यपुर खेल मैदान, मार्सल आर्टका खेलहरु आदर्श मावि लाय्कू थिमि, भलिबल बोडे मावि बोडे र कबड्डीका खेलहरु आदर्श मावि सानोथिमिमा भइरहेको छ ।