संघीयताको सफल कार्यान्वयन हुन नसक्दा देश विखण्डित हुने खतरा–अध्यक्ष बिजुक्छें

भक्तपुर, पुस २
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले नेपालमा संघीयताको सफल कार्यान्वयन हुन नसक्दा र स्वायत्तताको दुरुपयोग हुँदा देश विखण्डित हुने खतरा बढिरहेको बताउनुभएको छ । उहाँले देशका शासकहरुले पुरानै शैलीमा शासन गर्न खोजेमा संघीयता असफल हुने खतरा निम्तिने चेतावनी समेत दिनुभयो ।
भक्तपुर नगरपालिकाको ७४ औं स्थापना दिवसको अवसरमा सोमवार आयोजित कार्यक्रममा अध्यक्ष बिजुक्छेंले प्रदेश सरकार प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा जनतामा निराशा छाएको बताउनुभयो । उहाँले प्रदेशका मुख्यमन्त्रीहरु जनताको समस्या सम्बोधन गर्नुभन्दा पनि ठूल्ठूला भवनहरु निर्माणमा आफ्नो समय खर्चिरहेको आरोप समेत लगाउनुभयो ।
बिजुक्छेँले जनप्रतिनिधि र कर्मचारीहरु आफ्नो काम, कर्तव्य र अधिकारबारे प्रष्ट हुनुपर्ने बताउँदै शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायत नयाँ नयाँ विषयमा भक्तपुरलाई ‘टेष्ट ट्युब’को रुपमा विकास गर्न सके देशलाई नै फाइदा पुग्ने धारणा राख्नुभयो । उहाँले भक्तपुरलाई सांस्कृतिक नगर बनाउने विषयमा छलफल आवश्यक रहेको औंल्याउनुभयो ।


भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी भक्तपुर नपाले आवश्यकताअनुसार ऐन, नियम, विनियम र कार्यविधि बनाई जनताको हितमा काम गर्दै आइरहेको बताउनुभयो । उहाँले भक्तपुरलाई सफा, सुन्दर र विश्वकै हेर्नलायक नगर बनाउने काममा नगरपालिकासँगै जनताको पनि निरन्तर साथ र सहयोगको आवश्यकता औंल्याउनुभयो ।
उहाँले राजनीतिलाई जनताको सेवा गर्ने नीतिअनुरुप भक्तपुर नपाका जनप्रतिनिधि र कर्मचारीहरु परिचालित रहेको स्पष्ट पार्नुभयो ।


नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर देशभरिका स्थानीय सरकारको लागि अनुकरणीय नगरपालिकाको रुपमा रहेको बताउनभुयो । उहाँले देशकै परिपक्व नगरपालिकाको रुपमा रहेको भक्तपुर नपाको गौरवपूर्ण इतिहासलाई कायम गर्न सबैको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले सुशासन, कार्यशैली, कर्मचारी अनुशासन आदिमा भक्तपुर नपा अब्बल रुपमा प्रस्तुत भइरहेको बताउनुभयो ।
भक्तपुरलाई सफा र सुन्दर बनाउन यहाँका सफाइ कर्मचारीहरुको ठूलो भूमिका रहेको बताउँदै उहाँले भक्तपुर नपाले विदेशी सहयोग विना आफ्नै बलबुतामा भक्तपुरको विकास गर्नु नै यहाँको मुख्य विशेषता भएको बताउनुभयो ।
नेपाल नगरपालिका कर्मचारी एसोसियसन, ई.स.का अध्यक्ष गौतमप्रसाद लासिवाले इमान्दार र भ्रष्ट कर्मचारीहरुको पहिचान गरी आवश्यक पुरस्कार र दण्डको व्यवस्था हुनुपर्ने बताउँदै तालिम र प्रशिक्षणमार्फत कर्मचारीहरुको वृत्ति विकासमा ध्यान दिनु आवश्यक भएको बताउनुभयो ।


कार्यक्रममा बिजुक्छेँले सकिमना पुन्हीको दिन हलिमली ब्वज्या (नसा ब्वज्या) सम्बन्धी फोटो प्रतियोगिता र लघु वृत्तचित्र प्रतियोगिताका विजयीहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
भक्तपुर नपाले गत मंसिर ११ गते सकिमना पुन्हिको अवसरमा हलिमलि ब्वज्याको फोटो प्रतियोगितामा सुरेशराज शाक्य प्रथम, जयराम प्रजापति द्वितीय, किपा किजु डिजिटल फोटो तृतीय, उज्वल चन्द्र बुद्धाचार्र्यले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई रु. २० हजार, द्वितीय हुनेलाई रु. १५ हजार, तृतीय स्थान हासिल गर्नेलाई १० हजार र सान्त्वनालाई ७ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै भक्तपुरको मौलिक पहिचान झल्किने कला, साहित्य, संस्कृति, शिक्षा र स्वास्थ्यलगायतका विषयको लघु वृत्तचित्त प्रतियोगितामा ‘विश्वया उत्कृष्ट नमूना शहर ख्वप’ नामक ख्वप मिडिया सर्कलको प्रस्तुती रहेको लघु वृत्तचित्रका हरिकृष्ण दुवाल प्रथम, ‘क्वाटी’का तुल्सीकेशरी बासी द्वितीय, ‘कला संस्कृति’का अनिष वेंजु तृतीय, ‘बिस्का जात्रा’का रबिन्द्र किजुले सान्त्वना पुरस्कार हासिल गरेका थिए । उक्त प्रतियोगितामा प्रथम हुने विजेतालाई नगद रु. २५ हजार, द्वितीय हुनेलाई रु. २० हजार, तृतीय हुनेलाई रु. १५ हजार र सान्त्वनालाई रु. १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।