शिव शिखरका पीडितद्धारा संघर्ष समिति गठन

भक्तपुर, पुस १
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट वचत रकम फिर्ता लिनका लागि पीडितहरुले संघर्ष समिति गठन गरेका छन् । पीडित वचतकर्ताहरु शनिवार काठमाण्डौमा सम्पन्न भेलाले लोकेन्द्र लम्सालको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो ।
समितिले आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शिव शिखर सहकारीमा वचत गरेका करिब एक लाख ८० हजार वचतकर्ता र लगानी संस्थाहरुको अर्बौं रकम डुब्ने खतरा रहेकाले वचतकर्ताको रकम संरक्षणका लागि संघर्ष समिति बनाइएको संयोजक लम्सालले बताउनुभयो ।
“सहकारीको विश्वासमा परेर एक लाख ८० हजार वचतकर्ताले वचत गर्दै आएका थिए । जसको वचत रकम करिब १० अर्ब छ । शिवशिखरको नाममा पैसा उठाउने काम यसका संस्थापक अध्यक्ष केदारनाथ शर्मा जो अहिले कैलाली कारागारमा छन् । केदारनाथ शर्मा संस्थापक भएको शिवशिखर सहकारी संस्थालाई नेपाल सरकारले ठगी गर्ने लाइसेन्स दिएको जस्तो भएको छ,” अध्यक्ष लम्सालले भन्नुभयो ।
संघर्ष समितिका अन्य पदाधिकारीहरुमा वरिष्ठ सह– संयोजक महेन्द्र महर्जन, सह–संयोजकहरुमा शुभाषचन्द्र भट्ट (सुदूरपश्चिम प्रदेश), गणेश थापा (कर्णाली प्रदेश), सागर भण्डारी (लुम्बिनी), खेमराज सापकोटा (गण्डकी), बद्रिनाथ पोखरेल –बागमती) रहेका छन् ।
सचिवमा गणेश मल्ल, कोषाध्यक्ष चक्रमान श्रेष्ठ, सूचना सदस्य सुमन गोपाली, सदस्यहरुमा वेद प्रकाश महरा, केशव क्षेत्री, तारा कुँवर, छविलाल बस्नेत र तुल्सीराम कोजु रहेका छन् । त्यसैगरी, सल्लाहकारहरुमा विमल साउद, कमला जोशी र सुन्दर बानियाँ रहेका छन् ।
संघर्ष समितिले सरकारसँग वचतकर्ताकोे सभ्य र शान्त आवाजलाई कमजोरीका रुपमा नलिन अनुरोध गरेको छ । साथै, शिव शिखरका संस्थापक अध्यक्ष शर्मा र उनकी श्रीमती गीताको नाममा बैंकमा रहेको कर्जा विना ब्याज चुक्ता गराएर बाँकी रकम पीडित वचतकर्तालाई फिर्ता गराउन पनि सरकारसँग माग गरेका छन् ।
साथै, संघर्ष समितिले शिव शिखरका अध्यक्ष शर्माले जग्गा किन्नका लागि दिएको अग्रिम रकम संकलन गरी फिर्ता लिनुपर्ने रकम एक लाखभन्दा कम वचत भएका वचतकर्तालाई फिर्ता गर्न सुरु गर्नुपर्ने माग राखेका छन् ।
त्यसैगरी, शिव शिखर सहकारीबाट प्रवाहित कर्जा असुलउपर गर्न सरकारले पहलकदमी लिनुपर्ने उनीहरुको माग छ । उनीहरुले शिव शिखर सहकारीका अध्यक्ष शर्मा र उनकी श्रीमती गीताको नाममा विभिन्न वित्तीय संस्थाले कर्जा प्रवाह गरेको र ती वित्तीय संस्थाहरुले लिलामीमार्फत् आफ्नो–आफ्नो कर्जा असुल उपर गर्न थाल्दा वचतकर्ताको वचत डुम्ने खतरा बढेको बताएका छन् । उनीहरुले लिलामी प्रक्रिया रोक्न समेत सरकार समक्ष आग्रह गरेका छन् ।
उनीहरुले वचतकर्ताको रकम फिर्ताको सुनिश्चितता र वचत रकम फिर्ताको लागि पहल लिन सरकारसँग माग गरेका छन् । शिव शिखर सहकारीका देशभर ३६ वटा शाखा कार्यालय रहेका छन् । हाल शिव शिखरका सञ्चालक असिम राज भण्डारी, पुष्पकर मल्ल र अध्यक्ष शर्मा र उनकी श्रीमती गीता पक्राउ परिसकेका छन् ।