युएईलाई हराउँदैं बंगलादेशले जित्यो यू–१९ एसिया कप

भक्तपुर, पुस १
बंगलादेशले एसिसी यु–१९ एसिया कपको उपाधि जितेको छ । युएईको दुवईस्थित दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा आइतवार सम्पन्न फाइनलमा घरेलु टोली युएईलाई १९५ रनले हराउँदैं बंगलादेशले एसिसी यु–१९ एसिया कपको उपाधि जितेको हो ।
जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको युएई २४.५ ओभरमा ८७ रनमा अल आउट भएपछि बंगलादेशले पहिलो पटक यु–१९ एसिया कपको उपाधि जित्न सफल भएको हो ।
समूह चरणमा श्रीलंका र सेमिफाइनलमा पाकिस्तानलाई हराएर सनसनी मचाएको युएईले फाइनलमा भने खासै उल्लेख्य खेल प्रदर्शन गर्न सकेन । युएईका लागि ध्रुब पराशरले ३९ बलमा २ चौकासहित सर्वाधिक २४ रन बनाए । युएईका ९ खेलाडी दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बंगलादेशको जितमा मरुफ मरिधा र रोहनात बोस्रनले तीन तीन विकेट लिए । इकबाल हुसेन एमोन र शेख जिवनले समान दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो । बंगलादेशको जितमा ओपनर आशिकुर रहमानले १ सय ४९ बलमा १२ चौका र १ छक्कासहित १ सय २९ रनको शतकीय इनिङ खेले ।
मोहम्मद रिजवानले ७१ बलमा ४ चौका र १ छक्कासहित ६० रनको योगदान दिए । रिजवान र रहमानले दोस्रो विकेटका लागि १ सय २५ रनको शतकीय साझेदारी गरेका थिए । अरिफुल इस्लामले ४० बलमा ६ चौकासहित ५० रन बनाए । तेस्रो विकेटका लागि इस्लाम र रहमानले ८६ रनको साझेदारी गरेका थिए ।
युएईका तीव्र गतिका बलर आयमान अहमदले १० ओभरमा ५२ रन खर्चेर ४ विकेट लिए । ओमैद रहमानले १० ओभरमा ४१ रन खर्चेर २ विकेट लिए ।आयन खान र ध्रुब पराशरले एक एक विकेट लिए । सेमिफाइनलमा युएईले पाकिस्तानलाई तथा बंगलादेशले भारतलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए ।