सुवासले जिते भारतमा गल्फ उपाधि

भक्तपुर, पुस १
नेपालका गल्फर सुवास तामाङले भारतको कलकत्तामा सम्पन्न आईजीयु १२२ औं एमेच्योर गल्फ च्याम्पियनसिप अफ इण्डियाको उपाधि जितेको छ । रोयल कलकत्ता गल्फ क्लवमा सम्पन्न च्याम्पियनसिपमा नेपाल नम्बर एक एमेच्योर गल्फर सुवासले म्याच–प्ले फरम्याटमा खेलिएको ३६ होलको फाइनलमा भारतीय खेलाडी रोहितलाई ९–७ ले पराजित गर्दै उपाधि जितेको हो ।
पहिलो नौ होलमा पछि परेको अवस्थालाई उल्ट्याँउदै सुवासले सात होल बाँकी रहँदै उपाधि जितेका हुन् । सुवासको यो ऐतिहासिक सफलता हो । नेपाली गल्फरले भारतमा कुनैपनि प्रतियोगिताको उपाधि जितेको यो पहिलो पटक हो ।
चौथो सिडेड सुवास र तेस्रो सिडेड रोहितबीचको पहिलो नौ होलको प्रतिस्पर्धा रोमाञ्चक बन्यो । पहिलो होल सुवासले जिते । तर दोस्रो र आठौं होल जित्दा भारतीय रोहितले नौ होलको समाप्तिमा एक होलको अग्रता बनाए । यसपछि १० औं होल सुवासले जिते र खेललाई बराबरीमा पुर्याए । १३ औं होलमा सुवासले अग्रता बनाए । तर १४ औं होल फेरि रोहितले जिते । खेल बराबरीमा पुग्यो । यसपछि १५ औं, १६ औं र १८ औं होल आफ्नो पक्षमा पार्दै १८ होलको खेल सकिदा सुवासले ३–अपको अग्रता बनाए ।
सुवासले त्यसपछि खेलिएको ११ होलमा एक होलमात्र गुमाए । २० औं होलमा हार बेहोरेका उनले त्यसपछि लगातार दुई होल जित्दै आफ्नो अग्रता ४–अप पुर्याए । २४ औं देखि लगातार ४ होल आफ्नो पक्षमा पार्दै सुवास २७ होलको समाप्तिमा ८–अपको अग्रता बनाउन सफल भए । २८ औं होल बराबरी भएपछि सुवासले २९ औं होल आफ्नो पक्षमा पार्दै सानदार जित हासिल गरे ।
सन् १८९२ मा सुरूआत भएको भारतकै सबैभन्दा पुरानो गल्फ च्याम्पियनसिप जित्ने सुवास पहिलो नेपाली खेलाडी हुन् । सुरुको दुई दिन स्ट्रोक–प्ले फरम्याटमा ३६ होल खेलेपछि उत्कृष्ट ३२ खेलाडी म्याच–प्लेका लागि छनौट भएका हुन् । स्ट्रोक–प्लेमा सुवास १–ओभर ७३ र २–अण्डर ७० खेल्दै चौंथो भएका थिए ।
म्याच–प्लेको सुरुआती तीन राउन्डमा भारतीय खेलाडीलाई हराएका सुवासले सेमीफाइनलमा दक्षिण अफ्रिकाका अल्टिन भ्यान डर मर्वेमाथि जित हासिल गरेका थिए ।
नेपाल ओलम्पिक कमिटीबाट सन् २०२४ को पेरिस ओलम्पिक गेम्सका लागि छात्रवृत्ति प्राप्त गरेका सुवास विगत दुई वर्षदेखि भारतको बैंग्लुरुस्थित तरूण सरदेशाई एकेडेमीमा प्रशिक्षणरत रहेका छन् ।