व्यायाम मन्दिरको अध्यक्षमा पुनः प्रधान चयन

भक्तपुर, पुस १
नेपाल व्यायाम मन्दिरको अध्यक्षमा नारायण प्रधान सर्वसम्मत चयन भएका छन । मन्दिरको शनिवार सम्पन्न २३ औं साधारणसभाले प्रधानलाई छैंटौ पटक अध्यक्ष चयन गरेको हो । वि. सं. २०१० सालमा स्थापित व्यायाम मन्दिर नेपालको अग्रणी खेल संस्था मध्येको हो ।
साधारण सभाले मन्दिरको वरिष्ठ उपाध्यक्षमा अजय बज्राचार्य, उपाध्यक्षमा नानी काजी डंगोल र अनिललाल श्रेष्ठ, महासचिवमा सूर्य प्रसाद जोशी, सचिवमा ईश्वर श्रेष्ठ, कोषाध्यक्षमा प्रशान्त सिंह र सहकोषाध्यक्षमा नरेश नेपालीलाई पनि सर्वसम्मत चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा इश्वर खड्गी, अर्जुन बर्णवाल र रेन बहादुर श्रेष्ठ सर्वसम्मत चुनिए । मन्दिरको कार्य समितिमा वडा तथा स्थानीयबाट २ जना र मनोनित २ सदस्य समेत गरि १५ सदस्यीय रहनेछ । शनिबार बसेको कार्यसमितिले लुना प्रधान र संजीत श्रेष्ठलाई मनोनित गरेको छ ।
यसअघि बसेको साधारणसभाको बन्द सत्रले अध्यक्ष, महासचिव र कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन सर्वसम्मत पास गरेको थियो ।
व्यायाम मन्दिरले साधारण सभाका दौरान विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरेको थियो । व्यायाम मन्दिरमार्फत खेलको विकास र संस्थाको विभिन्न जिम्मेवारीमा रहेकाले पूर्व अध्यक्ष उदयबहादुर श्रेष्ठ र सदस्य रत्नलाल मानन्धरलाई जनही नगद ५५ हजार ५५५ सहित लाईभ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरेको हो ।
सोही अवसरमा विगत चार बर्ष देखि सुरु गर्दै आएको खेलकुद पत्रकार सम्मानबाट रातो पाटीका रोशन सिंह राउत, गोरखापत्रका प्रजित शाक्य, कान्तिपुर टेलिभिजनका प्रदीप लेखी, मेरो फिटनेश प्राईम एएचडी टिभीका देवराज पराजुली, काष्टमण्डप टिभीका रोहित भट्ट र एबिसी टिभीका कविराज बि.सी.लाई जनही नगद १० हजार रुपैंयासहित सम्मान गरिएको थियो ।
व्यायाम मन्दिरले आफ्ना सदस्यहरुका छोरा छोरीहरुले विभिन्न क्षेत्रमा गरेको प्रगतीलाई मध्यनजर गर्दै सन्तती पुरस्कारबाट प्रजल बरिया र श्वेता शाहीलाई १० हजार रुपैयाँ सहित प्रशंसा पत्रले व्यायाम मन्दिरले सम्मान गरेको छ ।
यस्तै अभिवक्ता कुमार राज भट्टराईलाई २५ हजार रुपैयाँ सहित बिशेष सम्मान र समाज सेवी बिद्या सागर तुलाधरको तर्फबाट विगतमाझै ब्यायाम मन्दिरको विकासमा सहयोग पु¥याउनुहुने सदस्यहरु कोषाध्यष प्रशान्त सिंह र पूर्ण कुमार मानन्धरलाई २० हजार रुपैयाले सम्मान गरियो ।
मन्दिरका उपाधयक्ष नानी काजी डंगोललाई संचालक समितिको तर्फबाट दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यस्तै नेपाल ब्यायाम मन्दिरको खेलाडीको रुपमा विभिन्न प्रतियोगितामा सहाभागिता जनाउनुका साथै पदक प्राप्त गर्न सफल ३७ जना खेलाडीहरुलाई पनि नगदसहित सम्मान गरिएको थियो ।