मेसीले सन् २०२६ को विश्वकप खेल्ने ईच्छा व्यक्त

भक्तपुर, मंसिर १६
अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले आगामी विश्वकप फुटबल प्रतियोगिता खेल्ने ईच्छा व्यक्त गरेका छन । उनले त्यसअघि कोपा अमेरिकाको उपाधि रक्षा गर्ने प्रमुख लक्ष्य रहेको समेत बताएका छन ।
मेसीको प्रकाशित पछिल्लो एक अन्तरवार्तामा उनले अर्जेन्टिनाका लागि फुटबल खेल्न नछोड्ने आशय समेत ब्यक्त गरेका छन् । हाल अमेरिकाको इन्टर मियामीमा व्यवसायिक फुटबल खेल्दै गरेका मेसीले सन् २०२६ को विश्वकप खेल्ने इच्छा पहिलेको भन्दा अझ धेरै भएको बताएका हुन् ।
मेसीले अन्तरवार्तामा सन् २०२६ को विश्वकप खेल्न चाहेको स्वीकार गरेपनि आफु कोपा अमेरिकाको उपाधि रक्षामै केन्द्रित रहेको बताए । ‘मैले सोचेको एउटै कुरा भनेको कोपा अमेरिकामा राम्रोसँग पुग्नु र प्रतिस्पर्धा गर्न सक्षम हुनु हो । हामी फेरि सधै जस्तै लड्ने छौँ र पहिलो हुने प्रयास गछौँ । त्यसपछि समयले बताउने छ, म विश्वकपमा हुन्छु कि हुदैन भनेर । त्यहाँ पुग्दा मेरो उमेर ३९ वर्षको हुनेछ । सामान्यतया यस उमेरमा विश्वकप खेल्न सकिदैन,’ मेस्सीले भने, ‘यस्तो लाग्थ्यो कि विश्वकपपछि म सन्यास लिनेछु तर ठ्याक्कै उल्टो अब म पहिले भन्दा बढी त्यहाँ हुन चाहन्छु ।’
मेसीले कोपा अमेरिकाको फाइनलमा ब्राजिललाई पेनाल्टीमा हराएर आफ्नो पहिलो ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिता जितेका थिए । ठिक एक वर्षपछि गत डिसेम्बरमा फ्रान्सविरुद्ध जित निकाल्दै कतार विश्वकपको उपाधि उचालेका थिए ।