मन्त्री गुरुङद्धारा निलबाराही क्षेत्रको स्थलगत अवलोकन

भक्तपुर, मंसिर १६
शहरी विकास मन्त्री सिता गुरुङले शनिवार मध्यपुर थिमि–९ बोडेस्थित टिगनीस्थित प्रसिद्ध ऐतिहासिक एवम् धार्मिक महत्वको निलबाराही मन्दिर परिसरको दक्षिण र पश्चिम भेगमा गएको पहिरो र त्यसबाट उत्पन्न जोखिमको स्थलगत अवलोकन गर्नुभएको छ ।
काठमाण्डौं उपत्यका विकास प्राधिकरणले नयाँ शहर (स्मार्ट सिटी) निर्माणका लागि रोक्का राखेको भक्तपुर र काठमाण्डौंको चाँगुनारायण, शंखरापुर, कागेश्वरी मनोहरा र मध्यपुर थिमि नगरपालिकाको जग्गाको अवस्थाको बारेमा स्थलगत निरिक्षण र अवलोकनका लागि आउनुभएका मन्त्री गुरुङले मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठको विशेष अनुरोधमा निलबाराही क्षेत्रको पनि अवलोकन गर्नुभएको हो ।
सो अवसरमा मन्त्री गुरुङले निलवाराही क्षेत्रको पहिरो नियन्त्रण र संरक्षण सम्बन्धमा मध्यपुर थिमि नगरपालिकाले तयार गरेको डिपिआर र डिपिआर बमोजिमको निर्माणका लागि चालु आर्थिक वर्ष विनियोजित बजेट कार्यान्वयनको टेण्डर प्रक्रियाको बारेमा समेत छलफल गर्नुभयो ।


छलफलमा मन्त्री गुरुङले निलबाराहीको गुरुयोजना कार्यान्यन गरी त्यस क्षेत्रको भूक्षय र पहिरो नियन्त्रणगरी प्राचिन निलबाराही मन्दिरको समेत संरक्षणका लागि मन्त्रालयले आवश्यक पहल गर्ने बताउनुभयो ।
वर्षेनी भूक्षय र पहिरोले प्रसिद्ध निलबाराही मन्दिर समेत जोखिममा परेपछि मध्यपुर थिमि नगरपालिकाको पहलमा भूक्षय र पहिरो नियन्त्रणको पर्याप्त कार्य भएपनि ठोस नतिजा हासिल गर्न सकेको छैन । नगरपालिकाको एक्लो प्रयासले मात्र निलबाराही क्षेत्रको पहिरो नियन्त्रण र संरक्षणको कार्य गर्न नसकिने विगतको नतिजालाई समेत मध्य नजर गर्दै संघीय र प्रदेशको बजेटको लागि पहल भइरहेको सन्दर्भमा मन्त्री गुरुङलाई मन्दिर परिसरको स्थलगत अवलोकन गराएको नगरप्रमख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
मध्यपुर थिमि नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष एवम् निलबाराही वन उपभोक्ता समितिका अध्यक्ष सानुकाजी राजबहाकले काठमाण्डौं उपत्यका विकास प्राधिकरणबाट निलबाराहीको डिपिआर अनुसार मन्दिरको पश्चिमतर्फको पहिरो नियन्त्रणको योजना कार्यान्वयनका लागि मन्त्री गुरुङसँग छलफल भएको बताउनुभयो ।
मन्त्री गुरुङको टोलीमा काठमाण्डौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त जानुका ढकालसहितको प्रतिनिधि मण्डल समेत सहभागी थिए ।


निलबाराहीको दर्शन समेत गर्नुभएको मन्त्री गुरुङसहितको टोलीले चाँगुनारायण नगरपालिका वडा नं. ४ स्थित विश्वसम्पदामा सुचिकृत प्रसिद्ध चाँगुनारायण मन्दिरसम्म स्मार्ट सिटीको लागि रोक्का राखेको क्षेत्रको अवलोकन गर्नुभएको थियो ।
काठमाण्डौं उपत्यका विकास प्राधिकरणले रोक्का राखेको म्याद समाप्त भएको र स्मार्ट सिटीको अवधारणा अनुसार नयाँ शहर निर्माण व्यवहारिकरुपमा पनि कठिन भएको जनाउँदैं केही महिना अघि मध्यपुर थिमि, सूर्यविनायक, चाँगुनारायण, कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकाले संयुक्तरुपमा जग्गा फुकुवा गरी कित्ताकाट खुलाउनु पर्ने माग राखेका थिए । उनीहरुले रोक्का फुकुवा नगरे स्थानीय सरकारको अधिकार प्रयोग गरी कित्ताकाटको सिफारिस गर्ने चेतावनी समेत दिएका थिए ।
सो अवसरमा चाँगुनारायण नगरप्रमुख जीवन खत्री, कागेश्वरी मनोहरा नगरप्रमुख उपेन्द्र कार्की, बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, मध्यपुर थिमिका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका वडाअध्यक्षहरुलगायतको उपस्थिती रहेको थियो ।