फ्रान्सलाई हराउँदैं जर्मनीले जिते फिफा यु–१७ विश्वकप

भक्तपुर, मंसिर १६
फिफा यु–१७ विश्वकप फुटबलको उपाधि जर्मनीले जितेको छ । इन्डोनेसियाको सुराकार्तास्थित मानाहान स्टेडियममा शनिबार फाइनलमा जर्मनीले सडन डेथमा फ्रान्सलाई ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
खेलको निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरमा गर्नुपरेको हो । निर्धारित समयमा जर्मनीका पेरिस ब्रुनेर र नोआ डार्भिचले गोल गर्दा फ्रान्सका साइमन बोउएब्रे र माथिस एमोउगोउले बराबरी गोल फर्काएर खेललाई टाइब्रेकरमा लम्ब्याएका थिए ।
टाईब्रेकरको ५÷५ पेनाल्टीमा पनि ३–३ को बराबरी भएपछि सडन डेथमा जर्मनीले बाजी मारेको हो ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको फाइनल खेलमा जर्मनीले खेलको २९ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो । पेरिस ब्रुनेरले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई १–० को अग्रता दिलाए । ५१औं मिनेटमा नोआ डार्भिचले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे ।

तर खेलको ५३ औं मिनेटमा फ्रान्सका साइमन बोउएब्रेले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएर खेललाई रोमाञ्चक बनाए । ६९औं मिनेटमा जर्मनी १० खेलाडीमा समेटिन पुग्यो । विनर्स ओसावी दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसपछि ८५औं मिनेटमा माथिस एमोउगोउले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए ।
टाईब्रेकरमा शुरुवाती ५ पेनाल्टीमा दुवै टिमले २÷२ पेनाल्टी गुमाएर ३÷३ गोल गरेपछि खेल सडन डेथमा पुगेको थियो । जहाँ फ्रान्सले सडन डेथको पहिलो पेनाल्टीमा गोल गर्न चुकेपछि जर्मनीले गोल गर्दै उपाधि जितेको हो ।
जर्मनी अर्जेन्टिनालाई पेनाल्टीमा ४–२ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । निर्धारित समयमा दुवै टोलीले ३–३ गोल गरेपछि खेलको निर्णय टाईब्रेकरमा भएको थियो । फ्रान्स अफ्रिकी देश मालीलाई २१ गोलले हराउँदैं फाइनलमा प्रवेश गरेको थियो ।
प्रतियोगिताको तेस्रो स्थान मालीले हासिल गरेको छ । तेस्रो स्थानको लागि भएको खेलमा मालीले अर्जेन्टिनालाई ३–० पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।