राष्ट्रियसभा सदस्यको निर्वाचन तालिका सार्वजनिक

भक्तपुर, मंसिर १५
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका शुक्रवार सार्वजनिक गरेको छ । आयोगले आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ताको कार्यक्रम राखेको छ ।
तालिका अनुसार पुस १ गते दलहरुलाई निर्वाचन चिन्ह प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने छ । पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ ।
पुस २० गतेदेखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यक्रम संचालन गरिने आयोगको कार्यतालिका छ । माघ ११ गते विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान कार्य सञ्चालन हुने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । स्थायी सदन राष्ट्रियसभाका एक तिहाइ अर्थात् २० जना सदस्यको पद आगामी फागुन २० गतेदेखि रिक्त हुँदैछ । रिक्त हुने २० मध्ये १९ जना सदस्यको लागि निर्वाचन हुन लागेको हो । एक जना सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने छ ।