चाँगुनारायणका वडामा विपतका आधारभूत खोज तथा उद्धार सामग्रीको व्यवस्था

भक्तपुर, मंसिर १५

चाँगुनारायण नगरपालिकाले प्रत्येक वडामा विपतमा प्रयोग हुने आधारभूत खोज तथा उद्धारका सामग्रीहरु भण्डारण शुरु गरेको छ । नगरपालिकाले सम्भावित विपद्लाई मध्येनजर गर्दै स्थानीयस्तरमै स्वयंसेवकहरु परिचालन गरी तत्काल प्रतिकार्य गर्नको लागि आवश्यक आधारभूत खोज तथा उद्धारका सामग्रीहरु प्रत्येक वडामा भण्डारणको व्यवस्था गरेको हो ।
वडाहरुमा भण्डारण गरिएका आधारभूत खोज तथा उद्धार सामग्रीहरुमा टिनको बाकस, सावेल, पिक, हम्मर, हँसिया, कोदालो, छिना, क्रोबार, गल, बाल्टिन, हेल्मेट, कैँची, करौती, प्राथमिक उपचार बाकस, स्ट्रेचर, काम्रो, सिठी, डोरी, हेड ल्याम्प, मेगाफोन, बुट, पंजा, मास्क, निप्याड, चस्मा र हाल्फ भेष्ट रहेको छ । नगरपालिकाले विपद् व्यवस्थापन शाखाको समन्वय र आइसेट नेपालको सहकार्यमा सो सामग्री भण्डारण गरेको हो ।
चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले शुक्रवार वडाहरुलाई उक्त सामग्रीहरु हस्तान्तरण गर्दै एक समुदाय एक प्रथम उद्धारकर्ता टोली तयार गर्न यसै आर्थिक वर्षमा वडास्तरमा द्रुत प्रतिकार्य टोली गठन एवं प्रशिक्षण सञ्चालन गरी समूदाय र नगरपालिकालाई विपद् उत्थानशील बनाउने जानकारी दिनुभयो ।
उहाँले चाँगुनारायण विपदबाट हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गरी नगरबासीलाई सुरक्षित बनाउनको लागि नगरपालिकाले प्राथमिकताका साथ विपद् व्यवस्थापनका कार्यक्रम तथा गतिविधिहरुलाई अगाडि बढाउदै आएको बताउनुभयो ।
यस अघि आइसेट नेपालका कार्यकारी निर्देशक कञ्चनमणि दिक्षितले खोज उद्धार सामग्रीको सेट नगरपालिकालाई हस्तान्तरण गर्दै नेक्सस परियोजनामार्फत चाँगुनारायण नगरपालिकासँग विपद् व्यवस्थापनको क्षेत्रमा सहकार्य गरेको बताउनुभयो ।
सामग्री हस्तान्तरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणि पन्थी, वडा अध्यक्षहरु सिजन कार्की, सोम प्रधान, जयन्द्र खड्का, धनबहादुर लामा, श्यामकृष्ण नयाँजु श्रेष्ठ, जनक खत्री, गणेश त्यात, कार्यपालिका सदस्यहरु निर्मला के.सी, जीवन परियार, शिक्षा शाखा प्रमुख बीर बहादुर खड्का, महिला तथा सामाजिक विकास शाखा प्रमुख नीला कुमारी घिमिरे, विपद् सम्पर्क व्यक्ति अनुप लामिछाने, योजना शाखा प्रमुख विश्वजीत होना, शाखा अधिकृत सुरज पौडेल, विपद् विज्ञ दिनेश थापा, परामर्शदाता राजकुमार लम्साल, आइसेटका कार्यक्रम व्यवस्थापक केशब मलाशी, फिल्ड अधिकृत भरत ढुंगाना लगायत नगरपालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।