एचआईभी एड्स अन्त्यका लागि समूदायको अर्थपुर्ण सहभागिता आवश्यक

भक्तपुर, मंसिर १५
एचआईभी एड्स अन्त्यका लागि समूदायको अर्थपुर्ण सहभागिता आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन । उनीहरुले समूदायसँगको सहकार्यको सुनिश्चितता कायम गर्दै एचआईभी एड्सको कार्यक्रमलाई थप प्रभावकारी बनाउन र सुदृढीकरण गर्नुपर्ने सुझाव समेत दिएका छन ।
३८ औं विश्व एड्स दिवसको अवसरमा स्वास्थ्य कार्यालय भक्तपुरले शुक्रवार आयोजित अन्तरक्रिया र ¥यालीमा सहभागीहरुले एचआईभी रोकथामका कार्यक्रमहरु नयाँ एचआईभी संक्रमण रोक्न तथा हालसम्म सेवा नपाएका जोखिम समूहहरुलाई प्राथमिकतामा राखि समयमा नै गुणस्तर सेवाको पहुँच पुर्याउनुपर्ने बताए ।
कार्यक्रममा विश्व एड्स दिवसको उद्देश्यमाथि स्पष्ट पार्दै स्वास्थ्य कार्यालय भक्तपुरका एचआइभी एड्स फोकल पर्सन भोला पौडेलले समूदायलाई एचआईभी एड्स सम्बन्धी महत्वपूर्ण मुद्दामा वहश तथा पैरवी गरी जनचेतना अभिबृद्धि गर्नु मूख्य उद्देश्य रहेको बताउनुभयो ।
उहाँले भक्तपुरमा एचआईभी एड्सको अवस्थाका बारेमा जानकारी दिँदैं चालु आर्थिक वर्ष साउनदेखी कार्तिक मसान्तसम्म ६ जना नयाँ संक्रमित पत्ता लागेको बताउनुभयो । “चालु आर्थिक वर्षको साउन यता परिक्षण गरिएका एक हजार ६९० जना मध्ये ६ जनामा एचआईभी संक्रमण देखा परेको छ,” उहाँले भन्नुभयो ।


स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अस्मिता ओझाले सरकार, विभिन्न संघसंस्था र सरोकारवालाहरुको वर्षोदेखीको निरन्तर प्रयासका कारण आज एचआईभी एड्सको भयावह न्यूनीकरण भएको बताउनुभयो । उहाँले यसको अन्त्यको लागि अझै समूदायलाई जागरुक बनाउनु पर्ने र समूदायलाई थप जिम्मेवार बनाउन यस क्षेत्रमा काम गर्दै आइरहेको संघसंस्था र सरकारी निकायको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले जोखिम क्षेत्रको पहिचान गरी ती समूदायलाई नै एचआईभी एड्सको संक्रमण न्यूनीकरणका लागि परिचालन गर्न सके एचआईभी एड्सको क्षेत्रमा प्रचलित तिनवटा शुन्य अर्थात थ्रि जिरोको अवधारणा पुरा गर्न सकिनेमा जोड दिनुभयो ।
उहाँले विभिन्न संघ संस्था र सरकारी निकायको पहलमा एचआईभी एड्सको भयावह अन्त्य गर्न सहयोग पुगेको बताउँदैं स्थानीय पालिकाहरुले पनि यस क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरी समूदायमा जनचेतना फैलाएर एचआईभी एड्स संक्रमितलाई हुने अवहेलना अन्त्यको लागि पहल गर्नुपर्ने सुझाव दिनुभयो ।
चाँगुनारायण नगरपालिका स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले एचआईभी संक्रमितलाई समूदायमा परिचित गराउन सके समूदायमा रहेको नकारात्मक सोच अन्त्य गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा हाम्रो समान पहुँचका ज्योती थापाले रातो रिबन राखिएको विभिन्न ब्यानरहरु, चिह्नहरु अनि प्रवर्धनात्मक साम्रगीहरु बोकेर विभिन्न र्याली, भेला, गोष्ठीहरु आयोजना गर्दै एचआईभी एड्सकाबारेमा जनचेतना फैलाउँदैं आएको जानकारी दिनुभयो ।


‘सामुदायिक उपचार तथा पुनः स्थापना केन्द्र’ (शुरुवात)का कमला शर्माले सरकारी अनि गैरसरकारी संस्थाहरुको सहयोग र लगानीका कारणले नेपालमा एचआईभी एड्सको ज्ञान र जनचेतनामा अभिवृद्धी हुँदै गएपनि अझै समूदायमा यसका बारेमा नकारात्मक टिप्पणी हुने गरेकोले संक्रमित उपचारको दायरामा आउन नचाहने प्रवृत्ति रहेको बताउनुभयो ।
अन्तरक्रियापछि स्वास्थ्य कार्यालय कटुञ्जेदेखी सल्लाघारीचोकसम्म सचेतनामूलक ¥यालीको आयोजना गरिएको थियो । ¥यालीमा एचआईभी एड्सको क्षेत्रमा काम गर्दै आइरहेको विभिन्न संघसंस्थाका प्रतिनिधि, स्वास्थ्य कार्यालयका प्रमुख तथा कर्मचारीहरु, विभिन्न पालिकाका स्वास्थ्य शाखा प्रमुखहरु र नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्षसहितका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।