रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई हराउँदै अष्ट्रेलिया फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

भक्तपुर, मंसिर १
पाँच पटकको विश्व विजेता अष्ट्रेलिया बिहिवार राती सम्पन्न रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलिया विश्वकपको फाइनल प्रवेश गरेको यो आठौं अवसर हो । अब उसले उपाधिका लागि भारतसँग खेल्नेछ ।
भारतको कोलकत्तास्थित इडेन गार्डनमा भएको दोस्रो सेमिफाइनल जित्नका लागि दक्षिण अफ्रिकाले अष्टे«लियालाई २१३ रनको लक्ष्य दिएको थियो, जसलाई अष्ट्रेलियाले अन्तिम १६ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।
अष्ट्रेलियाका लागि ट्राविस हेडले सर्वाधिक ६२ रन बनाए भने स्टीभ स्मिथले ३० र डेभिड वार्नरले २९ रनको योगदान दिए । अष्ट्रेलियाका लागि महत्वपूर्ण पारी खेल्नुका साथै एकै ओभरमा महत्वपूर्ण दुई विकेट लिएका हेड प्लेयर अफ दि म्याच बने ।
अष्ट्रेलियालाई पहिलो विकेटका लागि वार्नर र हेडले ६.१ ओभरमा ६० रनको आक्रमक शुरुवात दिलाएका थिए । वार्नर एडेन माक्ररमको बलमा बोल्ड आउट भए । हेड अर्का स्पिनर केशव महाराजको बलमा बोल्ड आउट भए ।
मिचेल मार्श रबाडाको बलमा शुन्यमा क्याच आउट भए । एक समय अष्ट्रेलिया १४ ओभरमा १०६–२ को अवस्थामा थियो । हेड बोल्ड भएपछि दक्षिण अफ्रिकाका स्पिनरले खेललाई रोचक वनाएका थिए ।


स्पिनर सहयोगी टर्न पिचमा केशब महाराज र तबरेज शाम्शिले दबाब बढाएका थिए । शाम्सीको बलमा ठूलो सर्टको धुनमा ग्लेन म्याक्सवेल एक रनमा बोल्ड आउट भए । मार्नस लाबुसेन ३१ बलमा २ चौकासहित १८ रनमा आउट भए । स्टिभ स्मिथ ६२ वलमा २ चौकासहित ३० रनमा क्याच आउट भए ।
जोश इंग्लिस ४९ बलमा ३ चौकासहित २८ रनमा सातौं विकेटको रुपमा आउट भए । उनी कोट्जीको बलमा बोल्ड भएपछि जितको लागि २० रन चाहिदा हातमा ३ विकेट थियो ।
दक्षिण अफ्रिकाका तबरेज शम्सीले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । जेराल्ड कोट्जीले दुई विकेट लिए । कागिसो रबाडा, एडेन माक्ररम र केशव महाराजले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिका ४९.४ ओभरमा २ सय १२ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिकाको लागि डेविड मिलरले १ सय १६ बलमा ८ चौका र ५ छक्कासहित १ सय १ रनको सानदार शतकीय इनिङ खेले पनि टोलिलाई जितको लागि पर्याप्त हुन सकेन । मिलर बाहेक अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । हेनरिक क्लासेनले ४८ बलमा ४ चौका र २ छक्कासहित ४७ रनमा आउट भएका थिए ।


एक समय २४–४ को अबस्थामा पुगेको टोलीलाई मिलर र क्लासेनले पाँचौ विकेटका लागि ९५ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । तर त्यसपछि पुन राम्रो साझेदारी हुन सकेन । मिचेल स्टार्कको पहिलो ओभरको अन्तिम बलमा कप्तान टेम्भा बभुमा शुन्यमा विकेटकिपर जोश इंग्लिसबाट क्याच आउट भए ।
यस विश्वकपमा चार शतक हानेका क्विन्टन डि कक ३ रनमा क्याच आउट भए । जोश हेजलवुडको छैटौं ओभरको चौथो बलमा ठूलो शर्टको धुनमा बल हाइ जादा प्याट कमिन्सले उत्कृष्ट क्याच लिएका थिए ।
स्टार्कको ११ औं ओभरको पाँचौ बलमा एडेन माक्ररम १० रनमा डेविड वार्नरबाट क्याच आउट भए । हेजलवुडको अर्को ओभरमा रास्सी भान डर डुसेन ६ रनमा स्टिभ स्मिथबाट क्याच आउट भएपछि दक्षिण अफ्रिका ११.५ ओभरमा २४–४ को दयनीय अवस्थामा पुगेको थियो ।
त्यसपछि मिलर र हेनरिक क्लासेनले १ सय १३ बलमा ९५ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । स्पिनर ट्रविस हेडको ३१ औं ओभरको चौथो बलमा क्लासेन बोल्ड आउट भए । लगत्तै अर्को बलमा मार्को यानसन एलबीडब्लु आउट भए ।


जेराल्ड कोट्जी ३९ बलमा २ चौकासहित १९ रनमा क्याच आउट भए । प्याट कमिन्सको सर्ट बलमा उनी विकेटकिपर जोश इंग्लिसबाट क्याच आउट भए । उनले मिलरसँग मिलेर सातौं विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए ।
अष्ट्रेलियाका प्याट कमिन्सले ३ विकेट लिए । ट्रविस हेडले ५ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्कले १० ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । जोश हेजलवुडले ८ ओभरमा ३ मेडनसहित १२ रन खर्चेर २ विकेट लिए ।
अष्ट्रेलियाले उपाधिको लागि आइतबार भारतसँग खेल्नेछ । भारतले पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराएको थियो । भारतले २ र अष्ट्रेलियाले ५ पटक उपाधी जितेका छन् । यी दुई टोलीबीच २००३ को विश्वकपछि पहिलो पटक फाइनल खेल्न लागेका हुन् ।