स्वन्ति नखःको अन्तिम दिन नेवार समूदाय किजा पुजा मनाईंदैं

भक्तपुर, कार्तिक २९
स्वन्ति नखःको अन्तिम दिन नेवार समूदायले बुधवार किजा पुजा मनाईंदैछ । कार्तिक शुक्ल त्रियोदशीदेखी दुतियासम्मको पाँच दिनलाई नेवार समूदायले स्वन्ति नखः र गैर नेवारले तिहारको रुपमा मनाईन्छ ।
तिहारको अन्तिम दिन गैर नेवार समूदायका दिदीबहिनीहरुले दाजुभाईको पुजा गरेर भाईटिका मनाएजस्तै नेवार समूदायका दिदीबहिनीहरुले पनि दाजुभाईको पुजा गरी किजा पुजा मनाईन्छ ।
भक्तपुरमा भने हिजो मंगलवार नै किजा पुजा गरेका छन । यसवर्ष तिथि घटबढका कारण स्वन्ति नखः मनाउने विषयमा अन्योल भएपछि भक्तपुर नगरपालिकाको पहलमा तलेजुका पुजारी, ज्योतिषहरुको बैठकबसी तिथिको घडीपला गणना गरी गरेको निर्णय अनुसार मंगलवार नै किजा पुजा मनाएको हो ।
मुलरुपमा दिदीबहिनीले दाजुभाईको पुजा गर्ने पर्व भएपनि नेवार समूदायले मनाईने किजा पुजा र गैर नेवार समूदायले बनाउने भाईटिकामा पुजा विधि भने फरक रहेको छ ।
नेवार समूदायमा किजा पुजाका लागि सबैभन्दा पहिले तेल, चामलको पिठो, लावा, कालो भटमास, कालो मासको गेडा, अक्षताले मण्डप तयार गरिन्छ । यसरी मण्डप बनाउँदा दाजुभाई कति जना छन त्यति र त्यसका अलावा सबैभन्दा माथि र अन्तिममा थप दुई वटा मण्डप बनाईन्छ, जुन यमदुतको लागि भन्ने जनश्रुति रहेको छ ।
उक्त मण्डपमा सबैभन्दा पहिले बिमिरो, त्यसपछि स्याउ, सुन्तला, मौसम, चाक्सी, भोगटे, नासपाटी, अम्बा, केरा, हलुवावेद, अमला, कटुस, ओखर, बदामलगायतका फलफुल राखिन्छ । साथै मखमली वा सयपत्रीको माला, जजंका पनि राखिन्छ । केही समूदायमा मण्डपको बाहिर फलफुल सजाउने प्रचलन पनि रहेको छ ।
मण्डप अगाडि नयाँ धानको चामलको पिठोबाट बनाएका मानवाकृत रोटीमा खेलु इताः (एक हात लामो मलमल कपडाले बनाएको बत्ती) दुई जोर राखिन्छ । त्यसपछि दिदीबहिनीले सुकन्दा बालेर भगवानको पुजा गर्छन । भगवानको पुजा पछि खेलु इताः बालिन्छ । बालिएको खेलु इताःले दिप्तमान् भइरहेको मण्डपमा पुजा गरी त्यसमा राखिएको बिमिरो लगायतका फलफुलको पुजा गरी दाजुभाईको पुजा गर्छन ।
पुजा गर्ने क्रममा सबैभन्दा पहिले भुईसिन्ह (सिम्रिक)को वा–जाकी सिन्ह (अक्षता, अविर मुछेर बनाएको टिका) लगाईदिन्छ । टिकापछि टाउकोमा तेल लगाईदिन्छन । तेलगाईसकेपछि शरिरको तीन अंङग घुँडा, कुम र टाउकोमा तिन ओटा मुटुमारी (चामलको रोटी), पञ्चरंगी फुलका टुक्रा, अमला, ओखर, ताय, जुंगेधान, आँख्य आदी राखेर तीन पटकसम्म टाउकोमा ढोगाएर मण्डलामा जाने गरि कुले (काठको पाठी)ले खन्याइ स्वाँ लुके गर्छन ।
स्वाँ लुकेपछि फलफुल दिदीबहिनीहरुले सजाइएको विमिरा, अन्य फलफूल, जजंका, गोदावरी फूल र वत्ती दाजुभाईको हातहातमा दिइन्छ र दाजुभाईले ती सामग्रीहरू निधारले ढोगी ग्रहण गरिन्छ ।
त्यसपछि दिदीबहिनीहरुले मखमली, सयपत्रीको मालासँगै जजंका लगाईदिएर दाजुभाईको घुँडा, कुम र शिरमा तीन पटक ढोग्छन । यस पश्चात् सगुनको काम शुरु हुन्छ । सगुनमा पहिले दहीको सगुन दिईन्छ, त्यसपछि खेँ सगँ (उसिनेको अण्डा र तेलमा तारेको माछाको सगुन) दिइन्छ । सगुनपछि दाजुभाईले दिदीबहिनीहरुलाई टिक लगाईदिई गच्छे अनुसारको दक्षिणा, लत्ताकपडालगायतका उपहार दिईन्छ । त्यसपछि दिदीबहिनीहरुले तयार गरी ल्याएको मिष्ठान्न भोज खाएपछि किजापुजा सम्पन्न हुन्छ । किजा पुजाको विधि स्थान विशेष र समुदाय विशेषका आधारमा केही फरक पनि हुने गरेको छ ।