तिहारको अन्तिम दिन आज भाईटिका पर्व मनाईंदैं

भक्तपुर, कार्तिक २९
तिहारको अन्तिम दिन आज (बुधवार) भाईटिका पर्व मनाईंदैछ । यो पर्वमा दिदीबहिनीले दाजुभाइको आरोग्य, ऐश्वर्य र दीर्घायुको कामना गर्दै विशेष मान–सम्मानका साथ विधिपूर्वक पुजाआजा गर्ने, मेवा–मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान–दक्षिणा, वस्त्र एवम् गच्छे अनुसार उपहार दिने परम्परा छ ।
पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान १० बजेर ५१ मिनेटको समय टिकाको उत्तम समय रहेको जानकारी दिएको छ । यद्यपि दिनभर टीका लगाउन सकिने समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले बताउनुभयो । बुधबार १९ घडी ९ पला अर्थात् २ बजेर ५ मिनेटसम्म द्वितीया तिथि रहेको समितिले जनाएको छ ।
पुराणमा यो दिन मार्कण्डेयलगायत अष्टचिरञ्जीवी, यम र यमुनाको पुजा गरी दाजुभाइको पूजा गर्ने विधि उल्लेख छ । दाजुभाइको दीर्घायुको कामना गर्दै अष्टचिरञ्जीवी, यमराज र उनकी बहिनी यमुनाको पुजा गरी दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने परम्परा छ ।
परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो दाजु यमराजलाई विशेष मान–सम्मान गर्दै भाइपुजा गरेको धार्मिक कथन रहेको छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले राजा बलिका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ ।
भाइ तिहारको दिन दियो, कलश र गणेशको पुजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमली, सयपत्री र दूबोको माला, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवं दीर्घायूको कामना गरिन्छ ।
दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान–सुपारी, फूल दिने प्रचलन पनि रहेको छ । भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने मानिसहरूको विश्वास छ ।
टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पुजा गर्नुपर्छ । यमराज, हनुमान्, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् । भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा–मीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पुजा गरी बिमिराको पुजा गरिन्छ । त्यसपछि दाजु–भाइको मङ्गलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पुजा गरी कालको बाटो छेक्नुपर्छ ।
पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पुजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्गकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ ।
दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् । तिहारमा लगाइने टीका पहेंलो, नीलो, सुन्तला, सेतो, हरियो, रातो र कालो गरी सात रङ्गका हुन्छन्, । सतरङ्गी टीकालाई निधारमा उर्द्ध्वाकार रेखामा सिधा लगाइन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पुजाआजा गर्छन् ।