नेपाल संवतको अवसरमा शंखधर साख्वाको प्रतिमामा माल्यापर्ण, सामाजिक सदभाव, पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउन टिकटक बन्द–प्रधानमन्त्री प्रचण्ड

भक्तपुर, कार्तिक २८
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकटक बन्द गर्ने निर्णयको बचाउ गर्दै सामाजिक सदभाव, पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउने उद्देश्यले सो निर्णय गरेको बताउनुभएको छ ।
राष्ट्रिय विभुती शंखधर साख्वा प्रतिष्ठानले नेपाल संवत ११४४ को अवसरमा मध्यपुर थिमिको शंखधरचोकमा मंगलवार आयोजित शंखधर साख्वाको प्रतिमामा माल्यापर्ण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले टिकटकको नाम उच्चारण नगरी टिकटक बन्द गर्ने निर्णयको बचाउ गर्नुभएको हो ।
उहाँले टिकटक बन्द गर्ने निर्णय लामो छलफल र बहश पछि सबै राजनीतिक दलहरुको सहमतिमा लिईएको खुलासा समेत गर्नुभयो ।
“समाजमा विसंगती, विकृति, अराजकता फैलाउने र राज्यलाई जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खालका प्रवृत्तिलाई के गरी नियन्त्रण गर्ने भन्ने विषयमा लामो छलफल पछि देशभित्रका सबै राजनीतिक दल के सत्तापक्ष, के प्रतिपक्ष, प्रमुख प्रतिपक्षसमेत सबैको लामो बहशको सहमतिपछि र अन्तराष्ट्रिय रुपमा पनि सबैभन्दा लोकतान्त्रिक र विकसित देशले कस्ता पद्धती अपनाएको छ भन्ने कुराको पनि अध्ययन गरेर सामाजिक सदभाव, पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउने उद्देश्यले निर्णय गरेको जानकारी गराउन चाहन्छु,” उहाँले भन्नुभयो ।


उहाँले सरकारको निर्णयमा बहश छलफल हुँदैं जाने र कन्भिन्स समेत हुँदैं जाने विश्वास व्यक्त गर्नुभयो । “जति निर्णय भएका छन त्यसमा बहश हुँदै जालान । यसमा मत विमतीहरु पनि होलान तर सरकारको उद्देश्य कम्तीमा नेपाली समाजमा विकृति विसंगती र अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोकेर जानुपर्छ, नियमन गर्नुपर्छ, रोक्न मिल्नेलाई रोक्नुपर्छ भन्ने मान्यताबाट उत्प्रेरित भएर सबैको सहमतिमा गरेको छु । केही साथीहरुलाई चित्त बुझेको छैन होला । छलफल हुँदैं जाला, कन्भिन्स हुँदै जाने प्रक्रिया होला,” उहाँले भन्नुभयो ।


उहाँले नेपालको नाममा रहेको र सामाजिक न्यायसँग सम्बन्धीत नेपालको मौलिक संवतलाई स्थापित गर्न ढिलो गर्नु ठूलो गल्ती हुन्छ भन्ने महशुस गरेर गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्रीको रुपमा नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिने निर्णय गरेको स्मरण गर्नुभयो । उक्त निर्णयले नेपाल संवत नेवारहरुको मात्र संवत हो, अरु भाषाभाषी र जातजातीको होइन भन्ने भ्रम चिर्न समेत सफल भएको विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपाल सरकारका दस्तावेज र माइन्युटहरुमा नेपाल संवत अनिर्वाय रुपमा उल्लेख गर्ने निर्णय गरेर आफुलाई गौरवान्दित भएको बताउनुभयो । उहाँले नेपाल संवतलाई राष्ट्रिय संवत बनाउन अग्रणी भूमिका नेवारहरुले नै खेलेको चर्चा गर्दै त्यसका लागि नेवार समूदायका अगुवा, अभियन्ता र बुद्धिजिवीहरुलाई धन्यवाद दिनुभयो ।


सामाजिक न्याय, सुशासन र समृद्धिको नाराभित्र सरकार सञ्चालन गर्ने प्रयास भइरहेको बताउँदैं उहाँले थुप्रै अप्ठ्यारा र जटिलताहरुको बीचबाट सरकारले सामाजिक न्यायको पक्षमा काम गरेको दावी गर्नुभयो ।
“चाहे मिटर व्याजी पिडित किसानहरुलाई मिटर व्याजीहरुबाट मुक्त गराउने कुरा, शक्तिशाली आयोग गठन बनाएर दोषीलाई कारवाही गर्ने प्रक्रिया होस, चाहे सामाजिक सुरक्षा कोषबाट विदेशमा रहेका लाखौं श्रमिकहरुलाई आवद्ध गर्ने होस या देशभित्रै अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमूलक व्यवसायमा रहेका झण्डै ४०÷५० लाख नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा अवद्ध गर्ने कुरा, यो सबैमा सामाजिक न्यायको जुन प्रक्रिया पहल भएको छ, यो पनि गहिरिएर अध्ययन गर्ने हो भने शंखधर साख्वाजस्ता विभुतीको प्रेरणा यसमा रहेको छ,” उहाँले भन्नुभयो ।


धनीलाई धेरै धनी बन्न नदिने र गरिवलाई धेरै गरिव बन्न नदिने कुरा नै सामाजिक सुरक्षा कोषमा आवद्धता भित्रको रणनीति भएको बताउनुभयो । जनता जति बेला अप्ठ्यारोमा पर्छन उनीहरुको पक्षमा सरकार छ, अभिभावक छ भन्ने मान्यता दिलाउने हेतुले जाजरकोट, पश्चिम रुकुम र बझाङलगायतमा सरकारले जिम्मेवारीताका साथ अभिभावकको हैसियतले भूमिका खेलेको उहाँले बताउनुभयो ।
उहाँले भूकम्प पिडितलाई सहयोग प्रक्रिया शुरु गर्न १० अर्बको कोष खडा गर्ने निर्णय गरिएको जानकारी दिँदैं भन्नुभयो, “नेपाल भूकम्प र अरु प्राकृतिक प्रकोपबाट जोखिमयुक्त देश छ । त्यसकारण आवासको समस्या समाधान गर्न विज्ञहरुबाट अध्ययन गराउनेदेखी आवास बिमाको अध्ययन गरेर प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ । यो सम्पूर्ण नेपालीहरुको निम्ति नयाँ पहल हुनेछ ।”


संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले शंखधर साख्वालाई सामाजवादी सांस्कृतिक नायकको संज्ञा दिनुभयो । “शंखधर साख्वा धनी र गरिव हुनु हुँदैन, ऋणी र साहु हुनु हुँदैन भन्ने मान्यता राख्नुहुन्थ्यो । नेपाल संवत लागु गर्ने सर्तमा राजालाई सुन दिएर जनतालाई ऋण मुक्त गरिदिने साख्वा वर्गिय र जातिय मुक्तिको पक्षपाती एवम् सामाजवादी सांस्कृतिक नायक हुनुहुन्थ्यो,” उहाँले भन्नुभयो ।
उहाँले प्रचण्ड नेतृत्वको सरकारले साहसी निर्णय गरेर कार्यान्वयन गरेको भन्दै प्रचण्डको प्रसंशा समेत गर्नुभयो । “प्रजातन्त्र स्थापनापछिको धेरै सरकारहरुले यति साहसी काम गरेको देखिएन, चाहे त्यो मिटरव्याजीको विषय होस, चाहे त्यो भुटानी शरणार्थीको विषयमा होस, चाहे त्यो बालुवाटारको जग्गा बेचेर खाने देशघातीको विषय होस, चाहे जनताको छोराछोरीले प्राप्त गर्न नसकेको नागरिकताको कुरा होस ती सबै प्रचण्ड सरकारले गरेको हो र काम शुरु भएको छ,” उहाँले भन्नुभयो ।
सरकारले गरेको मूख्य कामलाई आझेल पार्नका निम्ति केही सहायक कुरालाई योजनावद्ध ढंगले उठाउने गरेको आरोप समेत लगाउनुभयो ।


कार्यक्रममा बागमती प्रदेशका कृषि, पुशपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले जातिय पहिचान र अधिकारको सम्मान गर्दै बागमती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई प्रदेश सरकारको कामकाजको भाषा बनाउने निर्णय गरी संसदबाट पारित गरी कार्यान्वयनमा ल्याएको बताउनुभयो ।
नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदम्बेले शंखधर साख्वा जस्ता राष्ट्रिय विभुतीहरुको कदर राज्यले गर्दै जाने बताउँदैं सरकारले टिकटक जस्ता सामाजिक सञ्जाल बन्द गर्नुभन्दा नियमन गर्दै जानुपर्ने धारणा राख्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल संवतलाई सरकारी दस्तावेजमा प्रचलनमा ल्याउने सरकारी निर्णयको स्वागत गर्दै आफ्नो पार्टीको आधिकारिक दस्तावेजमा पनि प्रचलनमा ल्याउन बैठकमा प्रस्ताव लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले सहकारी, लघुवित्त र बैंकहरुको व्याजलाई व्यस्थित गरी नेपाली व्यवसायी र गरिव नेपालीहरुको ऋण मुक्त गर्ने अभियान शुरु गरी शंखधर साख्वा प्रति सच्चा सम्मान दिनुपर्नेमा जोड दिनुभयो ।


मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले शंखधर साख्वाको योगदानलाई स्मरण गर्दै नगरपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा यो वर्ष १३ करोड भन्दा बढी लगानी गरेर सिटी स्क्यान, डायलासिस सेवा शुरु गरेको जानकारी दिनुभयो ।
उहाँले आफ्नो कार्यकालको ५ वर्ष भित्र सबै नगरवासीलाई स्वास्थ्य विमा मार्फत निःशुल्क स्वास्थ्य सेवा दिने, पर्यटन गुरु योजना निर्माण गरी पर्यटन उद्योगको विकास गरी रोजगारीका अवसर सिर्जना गर्ने, शिक्षा क्षेत्रको सुधार गरी उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने, कला सँस्कृतिको संरक्षण गरी पर्यटनसँग जोड्ने नीतिका साथ काम गरिरहेको बताउनुभयो ।


प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल संवत र शंखधर साख्वाको बारेमा प्रचार प्रसार गर्ने र यसको महत्व स्थापित गर्न अग्रणी भूमिका खेलेको योगदान स्वरुप नेपाल समाचारपत्र दैनिक र नेपाल संवतको मोवाइल एप्स निर्माण गर्ने शौनक रञ्जितकारलाई यसवर्षको शंखधर सम्मानद्धारा सम्मानित गरेको थियो ।
यसैगरी वरिष्ठ संगीत तथा गायककार रामकृष्ण दुवाल, नेपाल संवतका अभियन्ता गणश साय्मि र सञ्चारकर्मी नारायण सुन्दर किलम्बूलाई शंखधर पदक प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका निवर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धर, सचिव बाबुकाजी साँछें श्रेष्ठलगायतले शंखधर साख्वाको जीवनी र योगदानका बारेमा चर्चा गर्नुभएको थियो । साथै नगदेश साँस्कृतिक पुचले महाकाली नाच, थिमि कला परिषदबाट नागचा प्याखँ, सिरुटार धिमेखलःले साँस्कृतिक झाँकी प्रस्तुत गरेको थियो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी संसदिय दलका सचेतक सांसद सन्तोष परियार, बागमती प्रदेशसभा भक्तपुरबाट प्रतिनिधित्व गर्नुहुने सांसदहरु सुरेश श्रेष्ठ, किरण थापा, भावना श्रेष्ठ, धनेश्वरी प्रजापति, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, उपप्रमुख सरिता तिम्सिना, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।