मध्यपुर थिमिका टोल बस्तीको परम्परागत र मौलिक नामाकरण शुरु

भक्तपुर, कार्तिक २८
मध्यपुर थिमि नगरपालिकामा टोल बस्तीहरुको परम्परागत र मौलिक नामलाई पुनः प्रयोगमा ल्याउने कार्य शुरु भएको छ । नेपाल संवत ११४४ न्हुँ दँको अवसरमा मंगलवार मध्यपुर थिमिको शंखधरचोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपुर थिमि नगरका टोल बस्तीहरुको परम्परागत र मौलिक नामलाई पुनः प्रयोगमा ल्याउने कार्यको शुभारम्भ गर्नुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले मध्यपुर थिमि आफैं ऐतिहासिक स्थान भएको चर्चा गर्दै यसको महत्व स्थानीय मौलिक र परम्परागत नामको प्रतिष्ठापन एवम् पुनः प्रयोगले अझ बढाएको बताउनुभयो ।


“स्थानीय स्तरमा रहेका मौलिक नामहरुलाई नै खोजी गरी स्थापित गर्ने र पुनः प्रयोगमा ल्याउने जुन पहल गर्नुभएको छ, यसले यस ऐतिहासिक नगरी मध्यपुर थिमिको महत्व अझ बढाएको छ । यसका लागि मध्यपुर थिमि नगरपालिका र यहाँका जनप्रतिनिधिहरुलाई धन्यवाद भन्न चाहन्छु,” उहाँले भन्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मौलिक नामको संरक्षणले स्थानीय कला संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले नगरपालिकाले यहाँको मौलिक नामको खोजी गर्ने अभियान सञ्चालन गरेर मध्यपुर थिमिको मौलिक पहिचानको संरक्षण गरेको बताउनुभयो ।
नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदम्बेले परम्परागत र मौलिक नामहरु स्थानीय टोलबस्तीहरुको पहिचान भएकोले त्यस्ता पहिचानलाई जिवित राख्ने कार्य मध्यपुर थिमि नगरपालिकाले शुरुवात गरेको बताउनुभयो ।


राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले स्थानीय ठाउँका नामहरु मौलिकरुपमा राख्ने कार्यलाई ईतिहासको सम्मान भएको बताउनुभयो । “आजभोली के भएको छ भने जसलाई देख्यो उसैको नाममा चोक, उसैको नाममा बाटो, उसैको नाममा गल्ली नामाकरण भएका कारणले हाम्रो ऐतिहासिक धरोहर, हाम्रो ऐतिहासिक मूल्य र मान्यता केही शक्तिवान र शक्तिशाली मान्छेहरुको हातमा परेको छ, उहाँले भन्नुभयो, “ईतिहासलाई जोगाउनु पर्छ, ईतिहास जस्तो सकुै भएपनि ईतिहासको मूल्य हुन्छ । ईतिहासको सम्मान गर्न नसक्ने समाजको भविष्य उज्यालो हुन सक्दैन । मध्यपुर थिमि नगरपालिकाले ईतिहासको सम्मान गरेको छ ।”


मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बढ्दो शहरीकरण र तिब्ररुपमा बढेको बस्ती विकासले स्थानीय पहिचान नै मेटिने गरी टोल बस्तीहरुको नामाकरण हुन थालेपछि नगरपालिकाले स्थानीय स्तरमा रहेको मौलिक र परम्परागत एवम् ऐतिहासिक नामहरुको खोज तथा अनुसन्धान गरी संकलन गर्ने र ती नामहरुलाई प्रतिष्ठापन गरी पुनः प्रयोगमा ल्याउने अभियान स्वरुप समिति नै गठन गरी कार्य अगाडि बढाएको जानकारी दिनुभयो ।
उहाँले समितिको प्रतिवेदन अनुसार अहिले स्थानीय टोल बस्तीहरुको मौलिक नामलाई प्रतिष्ठापन गरी पुनः प्रयोगमा ल्याउने चरणमा प्रवेश गरेको बताउनुभयो । उहाँले यस कार्यले यहाँको मौलिकता संरक्षण गर्न थप सहयोग पुग्ने र यसले मध्यपुर थिमिमा पर्यटन प्रवद्र्धनमा समेत ठूलो टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको बताउनुभयो ।


मध्यपुर थिमि नगरपालिकाले मौलिक नाम अभिलेखिकरण तथा प्रतिष्ठापन समिति गठन गरी नगरभित्रका टोल बस्तीहरुको परम्परागत र मौलिक नाम संकलन गरी ती नामलाई प्रतिष्ठापन गर्ने जिम्मेवारी दिएको थियो ।
सो समितिले करिव एक वर्षको अवधीमा नगरका वडा वडा, टोलबस्तीमा स्थलगत अवलोकन, भेला र छलफल तथा विभिन्न ऐतिहासिक दस्तावेज, अभिलेख, शिलालेख, ताडपत्र इत्यादीको अध्ययनबाट ४५० भन्दा बढी परम्परागत र मौलिक नाम संकलन गरेको थियो । सोही समितिको सिफारिसमा मध्यपुर थिमि नगरपालिकाको नगरसभा र कार्यपालिका बैठकबाट समेत पारित गरी नगरका टोल बस्तीको मौलिक नामलाई पुनः प्रयोगमा ल्याएको हो ।