जिल्लाव्यापी देउसी भैलो प्रतियोगितामा महेन्द्र विद्याश्रम पहिलो

भक्तपुर, कार्तिक २३
महेन्द्र विद्याश्रम स्कुल, बाराहीस्थान भक्तपुरले लगातार दोस्रो पटक भक्तपुर जिल्लाव्यापी देउसी भैलो रनिङ शिल्डको उपाधि जितेको छ । भक्तपुरको कमलविनायकस्थित ईष्ट प्वाईन्ट स्कुलले बिहिवार आयोजना गरेको देउसी भैलो रनिङ शिल्ड प्रतियोगितामा सहभागी विद्यालयका १० समूह मध्ये उत्कृष्ट प्रदर्शन गर्दै महेन्द्र विद्याश्रमले उपाधि जितेको हो ।
महेन्द्र विद्याश्रमले गतवर्ष पनि उपाधि जितेको थियो । अर्कोवर्ष पनि उपाधि जिते महेन्द्र विद्याश्रमले रनिङ शिल्ड पच गर्नेछ ।


प्रतियोगितामा एडभान्स एकेडेमी स्कुल मध्यपुर थिमि बोडे दोस्रो भए भने माउण्ट भ्याली ईङ्गलिस स्कुल तेस्रो हुन सफल भयो ।
प्रतियोगितामा आयोजक ईष्ट प्वाईन्ट स्कुलको दुई समूह, विनायक शिक्षा निकेतन थिमिको दुई समूह, महेन्द्र विद्यालश्रम, एडभान्स एकेडेमी, क्रियटिभ लनर्स स्कुल थिमि बोडे, माउण्ट भ्याली स्कुल, विद्या आर्जन ईङ्गलिस स्कुल, माउण्ट भ्यु ईङ्गलिस स्कुलको सहभागिता रहेको थियो ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यालयस्तरमा आयोजना गरिने यस्ता प्रतियोगिताले मौलिक कला संस्कृति संरक्षणमा टेवा पुग्ने बताउनुभयो ।
विदेशी गित संगीत, त्यसमा पनि विशेष गरी भारतीय गित संगीतले नेपाली गित संगीतमाथि अतिक्रमण गर्न थालेको बताउँदैं उहाँले यसलाई खतराको संकेत भन्नुभयो ।


“संसारमा कुनै पनि देशलाई आक्रमण गर्नुभन्दा अगाडि सांस्कृतिक अतिक्रमण शुरु हुन्छ । त्यसपछि मात्र भौतिक अतिक्रमण र आक्रमण हुन्छ । अहिले हाम्रो देशमा हिन्दी भाषको बोलवाला छ । हाम्रो देशमा बिस्तारै हिन्दी गित र नाच अगाडि बढीरहेको छ । यसले हाम्रो देश सांस्कृतिक अतिक्रमणमा पर्दै गएको छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा आयोजक ईष्ट प्वाईन्ट स्कुलका संस्थापक प्रधानाध्यापक रमेश चन्द्र श्रेष्ठले विद्यार्थीहरुलाई नेपाली मौलिक कला संस्कृतिको ज्ञान दिन २०६५ सालदेखी लगातार देउसी भैलो प्रतियोगिता गर्दै आइरहेको जानकारी दिनुभयो ।


उहाँले गत वर्षको एसईई परीक्षामा भक्तपुर नगरभित्रका विद्यालयमध्ये ईष्ट प्वाईन्ट छैंटौं हुनुले ईष्ट प्वाईन्टका विद्यार्थी कुनै पनि कोणबाट कमजोर छैन भन्ने प्रमाणित भएको बताउनुभयो । उहाँले विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन गराउन विद्यालयले विविध क्रियाकलाप गर्नेक्रममा नियमितरुपमा देउसी भैलो कार्यक्रम आयोजना गर्दै आइरहेको जानकारी दिनुभयो ।


सो अवसरमा ईष्ट प्वाईन्टका विद्यार्थीहरुले विभिन्न मौलिक कला संस्कृतिक झल्कने नृत्य तथा साँस्कृतिक प्रस्तुती पस्केको थियो । साथै विद्यालयले एसईई उत्तिर्ण विद्यार्थीका अभिभावकहरुलाई पनि सम्मान गरेको थियो । प्रतियोगिताको निर्णायकहरुमा सञ्चारकर्मी तथा नृत्य निर्देशक जीवन ढुंगाना र विना त्वाती रहनुभएको थियो ।