कान्तिपुरमा जारी धर्नामा आक्रमण

भक्तपुर, कार्तिक २३
कान्तिपुर मिडिया ग्रुपमा जारी आन्दोलनमा आक्रमण भएको छ । कान्तिपुरको थापाथलीस्थित कार्यालयको मुलढोकामा धर्नामा बसेका पत्रकारमाथि बुधवार आक्रमण भएको हो । धर्ना जारी रहेका बेला एक अपरिचित व्यक्तिले पत्रकारमाथि ढुङ्गा प्रहार गरेका थिए । आक्रमणबाट कान्तिपुर प्रभावित पत्रकार तथा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य टिकाराम प्रधान घाइते हुनुभएको छ ।
घटनापछि नेपाल पत्रकार महासंघले विज्ञप्ती जारी गर्दै घटनाको घोर भत्सर्ना गरेको छ । “कान्तिपुर मिडिया ग्रुपले त्यहाँ कार्यरत पत्रकारलाई गैरकानुनी रुपमा गरेको निष्कासन तथा सरुवाविरुद्ध थालिएको आन्दोलनमा भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,” महासंघद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।


‘आन्दोलन अन्तर्गत धर्ना सुरु भए लगत्तै कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट आएका एक व्यक्तिले आन्दोलनकारीमाथि ढुंगा प्रहार गरी आक्रमण गरेका थिए । आक्रमणमा कान्तिपुर प्रभावित पत्रकार तथा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य टिकाराम प्रधान घाइते हुनुभएको छ । शान्तिपूर्ण प्रदर्शनमा रहेका कान्तिपुर प्रभावित पत्रकारहरूमाथि भएको यो घटनाको जिम्मेवारी कान्तिपुर व्यवस्थापन भएको महासंघको ठहर छ,’ विज्ञप्तीमा उल्लेख छ ।
यसैबीच श्रम अदालतले कान्तिपुरका ७ जना पत्रकार÷कर्मचारीको अवकाश बदर गर्दै उनीहरूलाई पुनर्बहाली गर्न आदेश दिएको छ । श्रमजीवी पत्रकार÷कर्मचारीहरूलाई गैरकानुनी ढंगले निष्कासन तथा सरुवा गरिरहेका बेला कान्तिपुर पब्लिकेसन्स लिमिटेडले दिएको अवकाश श्रम अदालतले बदर गरेको हो ।
श्रम अदालतका न्यायाधीशद्वय प्रेम कुमार राई र निशा बानियाँको इजलासले ७ जना कान्तिपुरकर्मीको अवकाश बदर तथा पुनर्बहालीको फैसला गरेको हो । उनीहरूलाई कान्तिपुरले गैरकानुनी ढंगले निष्कासन गरेको थियो ।
पब्लिकेसन्सका राजेन्द्र कोइराला, हिमालय काफ्ले, विपुल श्रेष्ठ, ज्ञानराज गौतम, विष्णुबहादुर कार्की, धिरज अधिकारी, कृष्णहरि शर्माले गैरकानुनी ढंगले अवकाश दिइएको भन्दै गत साउन २५ गते कान्तिपुर पब्लिकेसन्सविरुद्ध मुद्दा दायर गरेका थिए ।


दुईजना पत्रकार माधव बस्नेत र रवि मानन्धरले कान्तिपुर पब्लिकेसन्स विरुद्ध दायर गरेको मुद्दा भने कानुन व्यवसायीका तर्फबाट स्थगित भएको छ । बस्नेत र मानन्धरले पारिश्रमिक तथा अन्य सेवा सुविधाको रकम उपलब्ध गराई पाऊँ भन्दै मुद्दा दायर गरेका थिए ।
कान्तिपुरले पछिल्लो ४ महिनायतामात्र ८२ जना पत्रकार र अन्य कयौँ कर्मचारी मजदुरलाई गैरकानुनी निष्कासन तथा सरुवा गरिरहेको छ । यी मध्ये कतिपय श्रमजीवी पत्रकार ऐनअनुसारका सेवासुविधा माग गर्दै प्रेस रजिस्ट्रारको कार्यालय तथा श्रम अदालत पुगिरहेका छन् ।