कान्तिपुर मिडिया ग्रुपविरुद्ध पत्रकार महासंघको प्रेस काउन्सिलमा उजुरी

भक्तपुर, कार्तिक २३
नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपविरूद्ध प्रेस काउन्सिल नेपालमा बुधवार उजुरी दर्ता गरेको छ । महासंघविरुद्ध कान्तिपुर मिडिया ग्रुप अन्तर्गतका सञ्चार प्रतिष्ठानमा प्रकाशित तथा प्रसारित समाचारले पत्रकार आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै उजुरी महासंघले काउन्सिलमा उजुरी दर्ता गरेको हो ।
महासंघका अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरीसहित महासंघका अन्य पदाधिकारीको टोलीले प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाललाई भेटेर उजुरी पत्र हस्तान्तरण गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत भुसालले महासंघले नै पत्रकार आचारसंहिता उल्लंघन भएको भन्दै उजुरी दिने अवस्था आउनु गम्भीर विषय भएको भन्दै तत्काल छानबिन शुरु गर्ने बताउनुभयो ।


यसअघि महासंघले केन्द्रीय कार्यालयमा आकस्मिक पत्रकार सम्मेलन गर्दै कान्तिपुर मिडिया ग्रुपमा महासंघको नेतृत्वमा जारी आन्दोलनविरुद्ध विज्ञप्ती प्रकाशित गरी लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको छ । महासंघले कान्तिपुर मिडिया ग्रुपले कर्मचारी नियमावली र श्रमजीवी पत्रकार ऐन उल्लंघन गरी पत्रकार निकालेका कारण महासंघ त्यसविरुद्ध उत्रिएको जानकारी समेत दिए ।
“कान्तिपुरले प्रकाशित विज्ञप्तिमा के लेख्यो त्यसको पुष्टि गर्ने कुरा उसैको भयो तर कान्तिपुरले कानुन मान्नुपर्छ कि पर्दैन ? अरुका विषयमा प्रश्न उठाउनेले आफ्नो संस्थामा देखिएका श्रम समस्या हल गर्नुपर्छ कि पर्दैन ? हाम्रो प्रश्न यही हो,” नेपाल पत्रकार महासंघमा अध्यक्ष पोख्रेलले भन्नुभयो, “श्रमजीवी पत्रकार ऐन नेपालमा पत्रकार महासंघले गरेको ठूलो लडाइपछि आएको कानुन हो । त्यसको कार्यान्वयन गर्नु सरोकारवालाहरुको दायित्व हुन्छ, त्यो कार्यान्वयन गर भनेर हामीले कान्तिपुरलाई भनेको मात्र हो ।”

उहाँले आन्दोलन श्रम अधिकार, न्यायका र सत्यको आन्दोलन भएको भन्दै उत्तेजित नभइ न्याय प्रप्ति नहँदासम्म जारी रहने बताउनुभयो । उहाँले कान्तिपुरविरुद्ध जारी आन्दोलनमा नागरिक समाज तथा संघसंस्थाको ऐक्यबद्धता रहेको भन्दै कान्तिपुरले आफ्नो विश्वासनीयता खस्किनेगरी लाञ्छना लगाउँदै अघि बढे उसैलाई घाटा हुने समेत बताउनुभयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कान्तिपुर मिडिया ग्रुपले ८२ जना पत्रकारलाई गैरकानुनी ढंगले निष्काशन गरेपछि महासंघको केन्द्रीय समितिको निर्णयअनुसार पटकपटक त्यसो नगर्न, कानुनको पालना गर्न आग्रह गर्दा नमानेका कारण श्रमजीवी पत्रकारको सेवासुविधासहित अधिकार प्रप्तिका लागि आन्दोलन गर्न बाध्य भएको बताउनुभयो ।


“संविधानले व्यवस्था गरेको शान्तिपूर्ण ढंगले आफ्ना मागहरु राख्ने, जानकारी गराउन पाउने संवैधानिक हक प्रयोग गर्दा अत्यन्त आपत्तिजनक ढंगले विज्ञप्तिको हवाला दिएर समाचारमार्फत पत्रकार महासंघको छविलाई धुमिल बनाउने, महासंघको लामो इतिहासलाई लाञ्छित गराउने र श्रम अधिकारको पक्षमा क्रियाशील संस्थालाई भ्रमित बनाउने र विषयान्तर गर्ने कान्तिपुर मिडिया ग्रुपको उद्देश्य देखियो । हामी यो कुरालाई खण्डन गर्न चाहन्छौँ,” उहाँले भन्नुभयो । उहाँले कान्तिपुर मिडिया ग्रुपले महासंघलाई लगाएको आरोप पुष्टि गर्न चुनौतीसमेत दिनुभयो ।
श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले कान्तिपुरले कानुन पालना गर्न बाध्य हुने स्थिति आन्दोलनले बनाउने बताउनुभयो । समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले महासंघको जारी आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गर्नुभयो ।