मखमलीले सजिन थाले ताथलीका घर

लक्ष्मी गारु, भक्तपुर, कार्तिक २२
मखमली फुलको मालाले चाँगुनारायण नगरपालिका–९ ताथलीका घरहरु सजिन थालेका छन् । तिहार नजिकिएसँगै ताथलीको बनमाला टोलका घरहरु मखमली मालाले सजिन थालेको हो ।
ताथलीका वनमाला जातीको पुख्र्यौली पेशा हो फुलखेती । विशेषगरी नवदुर्गा देवगणको पुजालाई फुल उत्पादन गर्ने परम्परा बोकेका वनमालाहरुले पछिल्ला केही दशक यता तिहारका लागि मखमली फुलको खेती गरी माला उनेर बिक्रि गर्ने व्यवसाय अंगाल्दै आएका छन ।
विशेषतः तिहार अन्तर्गत भाइटीकाका लागि मखमलीको माला आवश्यक मानिन्छ । त्यसैले तिहार नजिकिएसँगैं ताथलीका वनमाला समूदायसँगै अन्यलाई समेत मखमली फुलको माला गाँस्न र माला सजाउनका लागि भ्याइ नभ्याइ भएको छ । ताथलीका वनमाला समुदायको प्रत्येक घरका महिला र पुरुषमात्र होइन केटाकेटी समेत माला उन्नमा व्यस्त छन ।
आय आर्जनको प्रमुख स्रोत फूलखेती गर्ने वनमालाहरुको सो क्षेत्रमा ३ दर्जन भन्दा बढी घर रहेको छ । वैशाख–जेठ महिनामा छर्ने मखमली फुल साउन महिनादेखि फूलेपछि भदौदेखि फुल टिपेर माला उन्न व्यस्त रहने वनमालाहरुको भनाइ छ ।
दशैं सकिए लगत्तै मखमली फुलको माला उन्ने चटारो परेको मोतिबहादुर बनमालाले बताउनुभयो । “मखमली फुल्न थालेपछि असोजको पहिलो सातादेखी नै माला उन्न शुरु भएता पनि तिहार नजिकिएपछि भने माला उन्ने चटारो परेको हो,” उहाँले भन्नुभयो ।
यसरी उनेका फुलका माला उपत्यकाका विभिन्न स्थान, बनेपा, धुलिखेल र पोखरालगायतका स्थानमा बिक्रीका लागि निर्यात गर्ने गरिएको वनमालाले बताउनुभयो । “यहाँ उत्पादन भएका माला काठमाण्डौंका होलसेल व्यापारीलाई बिक्रि गर्ने र त्यहीबाट शहरका विभिन्न स्थान तथा बनेपा, धुलिखेल र पोखरासम्म पुग्छ,” उहाँले भन्नुभयो ।
त्यसैगरी विगत २७ वर्षदेखी फुलको व्यवासाय गर्दै आएकी दिलमाया वनमालाले फुल व्यवसायले आम्दानी समेत राम्रै हुने गरेको बताउनुभयो । तिहारमा फुलको माग प्रत्येक वर्ष बढ्दो छ । सयपत्रीलगायतका फुल विदेशबाट समेत आयात हुने भएपनि मखमलीको माला विदेशबाट नआउने भएकाले बजारको अभाव नभएको उहाँले बताउनुभयो ।
उहाँले पहिले पहिले काठमाण्डौं लगेर बिक्रि गर्नुपर्ने भएपनि अचेल घरघरमा व्यापारी आएर होलसेलमा लैजाने गरेको बताउनुभयो । “पहिले पहिले आफैं काठमाण्डौंका विभिन्न बजारमा गएर बेच्न जानु पर्ने बाध्यता थियो । अचेल घरमै होलसेलमा उठाउन आउँछन,” उहाँले भन्नुभयो ।
भक्तपुरको ताथलीमात्र होइन गुण्डु क्षेत्र पनि मखमली फुलको पकेट क्षेत्र हो । तत्कालिन जिल्ला विकास समितिको स्थानीय विकास कोषले एक गाउँ एक उत्पादन अन्तर्गत गुण्डुलाई मखमली फुलको पकेट क्षेत्रको रुपमा विकास गरेको थियो । सोही अनुसार अहिले गुण्डु मखमली फुलको राजधानीको रुपमा समेत परिचित हुँदैं आएको छ ।
गुण्डुका स्थानीय किसानले धानखेती छाडेर मखमली फुलको खेती अंकाल्दै आएका छन । त्यसैले यहाँका प्रत्येक घरले धेर थोर मखमली फुलको खेती गरेका छन । दशैं सकिए लगत्तै यहाँका किसानहरु पनि मखमली फुल टिप्न र माला गाँस्न व्यस्त छन ।