सुपर ओभरमा नेपाललाई हराउँदैं ओमानले जित्यो उपाधि

भक्तपुर, कार्तिक २०
रोमाञ्चक फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गरी ओमानले टी–२० विश्वकप छनोट एसिया क्षेत्रको उपाधि जितेको छ । सुपर ओेभरमा जितको लागि नेपाललाई २२ रन चाहिएको थियो । तर ओमानका बिलाल खानले १० रन मात्र दिएपछि नेपाल घरेलु मैदानमा उपाधि जित्नबाट बञ्चित भएको हो ।
पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ८४ रन बनाएको थियो । ओमानले ९ विकेट गुमाई १ सय ८४ रन बनाएपछि खेल टाइ भएको थियो र निर्णय सुपर ओभरमा पुगेको थियो ।


सुपर ओभरमा नसिम खुशीले अविनाश बोहरालाई ३ छक्का प्रहार गरेपछि ओमानले विना क्षति २१ रन बनाएको थियो । जवाफमा नेपालबाट ब्याटिङ गर्न कुशल भुर्तेल र गुलसन झा आएका थिए । ओमानका बिलाल खानले बलिङ गरेका थिए । बिलाल खानले पहिलो बलमा कुशल भुर्तेललाई क्याच आउट गरे ।
भुर्तेलपछि कुशल मल्ल ब्याटिङमा आए । बिलालले दोस्रो बल कुशललाई योर्करमा डट राखे । तेस्रो बलमा एक रन लिएका थिए । चौथो बलमा गुलसनले एक रन मात्र बनाएपछि नेपालको जितको सम्भावना समाप्त भएको थियो । कुशलले पाँचौं र अन्तिम बलमा लगातार चौका हाने पनि त्यो जितका लागि प्रयाप्त भएन ।


त्यसअघि जितको लागि १ सय ८५ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । त्यसपछि खेल सुपर ओभरमा पुगेको थियो ।
अन्तिम ओभरमा ओमानलाई जितको लागि ८ रन आवश्यक थियो । नेपालका कप्तान रोहित पौडेलले सन्दिप लामिछानेलाई बलिङ गर्न दिए । सन्दिपले ७ रन दिँदै एक रन आउटसहित कुल ३ विकेट लिएपछि खेल टाई भएको थियो ।
ओमानबाट ओपनर कश्यप प्रजापतिले सर्वाधिक ६३ रन बनाए । उनले ५२ बल खेली ३ चौका र ४ छक्का प्रहार गरे । डेथ ओभर विशेषज्ञ अविनाश बोहराले १७ औं ओभरमा उनलाई आउट गरी नेपाललाई खेलमा फर्काएका थिए ।
अकिब इल्यास १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रनमा आउट भए । उनी गुलसन झाको बलमा सन्दिप जोराबाट प्वाइन्टमा क्याच आउट भए ।


दोस्रो विकेटका लागि अकिब र कश्याप प्रजापतिले ६७ रनको साझेदारी गरेका थिए । कप्तान जिशान मकसुद १८ बलमा २ चौका र १ छक्कासहित २६ रनमा क्याच आउट भए । जिशान विवेक यादवको बलमा लगातार दोस्रो छक्का हान्ने धुनमा रोहित पौडेलबाट क्याच आउट भएका थिए ।
नेपालका सन्दीप लामिछानेले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । करण केसीले २ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए । गुलसन झाले २ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।


त्यसअघि टियु मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ८४ रन बनाएको थियो । गुल्सन र कप्तान रोहितको अर्धशतकमा नेपालले ठुलो स्कोर बनाएको थियो ।
गुल्सनले २० बलमै अर्धशतक बनाएका थिए । टी–२० अन्तर्राष्ट्रियमा गुल्सनको यो पहिलो अर्धशतक हो । उनले कुल २५ बल खेली ५ चौका र ४ छक्कासहित ५४ रन बनाए ।
नेपाल १० ओभरमा ४ विकेट गुमाई ६० रनमात्र बनाउन सकेको अवस्थामा गुल्सन र कप्तान रोहितले ७ ओभरमा ७८ रनको साझेदारी गरेका थिए । बिलाल खानको बलमा गुल्सन आउट भएपछि यो साझेदारी टुटेको थियो । रोहितले ३६ बलमा अर्धशतक पुरा गरेका थिए । उनले कुल ३७ बलमा ५२ रन बनाउने क्रममा ५ चौका र २ छक्का प्रहार गरे ।


रोहित र करणले अन्तिम ओभरमा फायज बटलाई २४ रन प्रहार गरेका थिए, जसमा करणले दुई छक्कासहित १९ रन बनाएका थिए । नेपालले अन्तिम ५ ओभरमा ७५ रन जोडेको थियो ।
नेपालको सुरुआत राम्रो रहेन । दोस्रो ओभरमा छक्का प्रहार गर्दै आफ्नो खाता खोलेका आसिफ शेख ६ रनमै आउट भए । तेस्रो नम्बरको ब्याटिङमा नेपालले पुनः एक अर्को प्रयोग गर्दै सन्दिप जोरालाई पठाएको थियो । १३ बलमा १० रनमात्र बनाउन सकेका उनलाई ओमानका कप्तान जिसन मक्सुदले बोल्ड गरे ।


ओपनर कुशल भुर्तेलले ३१ रन बनाए । उनले २२ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । अफ स्पिनर अकिब इल्यासले भुर्तेल र कुशल मल्ललाई आउट गरि नेपाललाई पूर्ण रुपमा दबाबमा राखेका थिए । बोल्ड हुनु पूर्व मल्लले ९ बलमा ३ रनमात्र बनाउन सके । विवेक यादवले पनि १ रनमात्र बनाउन सके ।
यसअघि नै फाइनलमा पुगेसँगै नेपाल र ओमानले अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा स्थान पक्का गरिसकेका थिए । सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेटले र ओमानले बहराइनलाई १० विकेटले पराजित गरेको थियो । नेपालले सन् २०१४ पछि पहिलो पटक विश्वकपका स्थान बनाएको हो भने ओमानले २०१६, २०२१ र २०२४ मा गरि तेस्रो पटक विश्वकपमा स्थान बनाएको हो ।