महासमिति बैठकले कांग्रेसलाई नयाँ उचाईमा पुर्याउँछ–सहमहामन्त्री आङदम्बे

भक्तपुर, कार्तिक १९

नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदम्बेले आगामी महासमिति बैठकले कांग्रेसलाई वैचारिकरुपमा नयाँ आयामका साथ उचाईमा पुर्याउने बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ प्रदेशसभा ‘क’ को शनिवार आयोजित पहिलो सम्मेलनमा सहमहामन्त्री आङदम्बेले महासमिति बैठकलाई नीति महाधिवेशनको रुपमा आयोजना गर्न लागिएको बताउँदैं उक्त ऐतिहासिक सम्मेलनले कांग्रेसलाई नयाँ विचारसहित अगाडि बढाउने विश्वास व्यक्त गर्नुभएको हो ।
उहाँले लोकतान्त्रिक पार्टीमा आफ्ना विचार राख्ने स्वतन्त्रता भएको र सोही क्रममा कहिल्यै कहीँ ध्यान पुर्याउन नसक्दा वैचारिक स्खलन हुने गरी नेताहरुको भनाई आउने गरेको र त्यसले आम कार्यकर्ताहरुलाई अलमलमा पार्ने गरेको बताउनुभयो ।


पार्टीभित्र उत्पन्न विभिन्न गुट उपगुटले एकले अर्कोलाई गाली गर्ने प्रवृत्तिले इमान्दार कार्यकर्ताको भावनामा ठेस पुग्ने गरेको टिप्पणी गर्दै उहाँले यसले पनि पार्टीलाई कमजोर बनाउने हुँदा त्यस्ता गतिविधि नगर्न आह्वान गर्नुभयो ।
लोकतन्त्र स्थापनामा भक्तपुरको अतुलनीय योगदान रहेको चर्चा गर्दै उहाँले भक्तपुरले हिजोको पहिचानलाई जोगाउन सक्नुपर्नेमा जोड दिनुभयो । “भक्तपुर प्रजातन्त्र सेनानीहरुको जिल्ला हो । हिजो लोकतान्त्रिक आन्दोलनमा भक्तपुर लोकतन्त्रवादीहरुको सेल्टर रहेको थियो । भक्तपुरले यही पहिचालाई जोगाउन सक्नुपर्छ । लोकतन्त्रको हरेक असजिलो अवस्थामा पनि भक्तपुरले साथ दिएको छ,” उहाँले भन्नुभयो ।


नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले पार्टी विधान अनुसार चल्नुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेसले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभयो ।
अर्का केन्द्रीय सदस्य रमा कोइराला पौडेलले कांग्रेसले गरेका विकासका कामलाई प्रचार गर्न नसक्नु र जनता समक्ष पुर्याउन नसक्नुनै कांग्रेसको कमजोरी भएको बताउनुभयो ।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्र बानियाँले लोकतन्त्र भनेको स्वच्छ प्रतिष्पर्धा गर्ने व्यवस्था भएकाले नयाँ पार्टीले पनि स्वच्छ प्रतिष्पर्धा गरेर कांग्रेसलाई विस्थापित गरेर देखाउन चुनौती दिनुभयो । नयाँ पार्टीमा कांग्रेसको इतिहास मेटाउने र लोकतन्त्र स्थापनामा कांग्रेसको योगदानलाई कसैले चाहेर मेटाउन नसक्ने बताउँदैं उहाँले भ्रमको खेती नगर्न नयाँ दलहरुलाई आग्रह गर्नुभयो ।


नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापाले चिया पसलहरुमा बसेर कांग्रेसले कांग्रेसलाई गाली गर्ने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउँदैं लगेको बताउनुभयो । उहाँले संघर्षका बेला एकजुट भएर लागेका नेता कार्यकर्ता अहिले लोकतान्त्रिक व्यवस्थामा एकले अर्कोलाई सम्मान दिन नसक्नु नै कांग्रेसको कमजोरी भएको बताउनुभयो ।


कार्यक्रममा नेपाली कांग्रेसका सूर्यविनायक नगरसभापति निशान ढुंगेल, भक्तपुर क्षेत्र नं. २ प्रदेश सभा ख का सभापति ओमप्रकाश श्रेष्ठ, भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्की, क्षेत्र नं. १ का सभापति जीवन खत्री, बागमती प्रदेशका पुर्व भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल, बागमती प्रदेश समितिका सदस्य सुमन कार्की, बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठलगायतले कांग्रेसलाई कमजोर भए लोकतन्त्र कमजोर हुने चर्चा गर्नुभयो ।
सम्मेलनले वार्षिक प्रतिवेदन, भावी नीति तथा कार्यक्रम र आर्थिक प्रतिवेदन पारित गरेको नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ प्रदेशसभा ‘क’का सभापति प्रदिप कार्कीले बताउनुभयो ।