शहिदको उच्च सम्मान हुनुपर्छ – सांसद थापा

भक्तपुर, कार्तिक १९
नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापाले लोकतन्त्र स्थापनाको लागि ज्यानको आहुती दिने शहिदलाई राज्य र आम नागरिकले उच्च सम्मान दिनुपर्ने बताउनुभएको छ । शहिद राधेश्याम जोन्छे स्मृती प्रतिष्ठानको शनिवार आयोजित १८ औं साधारणसभामा सांसद थापाले लोकतन्त्रको रक्षाको लागी शहिदहरुको योगदानलाई कहिल्यै भुल्न नहुने बताउँदैं शहिदको सधै उच्च सम्मान हुनुपर्ने बताउनुभएको हो ।
“मुलुकमा लोकतन्त्र स्थापनाका लागि ज्यानको आहुती दिने शहिदहरुको योगदानलाई भुल्न हुँदैंन । शहिदहरुलाई राज्य र आम नागरिकले सधैं उच्च सम्मान दिनुपर्छ,” उहाँले भन्नुभयो ।
उहाँले पार्टीमा काम गर्ने क्रममा कहिले कहीँ स–साना मतभेद उत्पन्न हुनु स्वभाविक भएपनि त्यस्ता मतभेद त्यागी पार्टी एकताको पक्षमा नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले शहिद राधेश्याम जोन्छें कांग्रेसका कुशल नेतृत्वकर्ता र संगठन निर्माणकर्ता भएको स्मरण गर्दै जोन्छेंको जन्मथलो र राजनीतिक कर्मथलो भक्तपुरमा कांग्रेसलाई बलियो बनाउन एकजुट भएर लाग्नुपर्ने र कांग्रेस एकढिक्का भएर संगठन बिस्तारमा लाग्न सके मात्र जोन्छेप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।
कार्यक्रममा प्रजातन्त्र सेनानी तथा वरिष्ठ साहित्यकार एवम् नेपाली कांग्रेस भक्तपुरका पुर्व सभापति तिलक प्रकाश कायस्थले कार्यकर्ताले विवेक प्रयोग गर्नुपर्ने र नेताको केवल दास बन्न नहुने धारणा राख्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष एव बागमती प्रदेशका पुर्व राज्यमन्त्री रजनी अमात्य जोन्छेले परिवर्तनलाई आत्मसाथ गर्दै लोकतन्त्रको मुल्य मान्यताको रक्षा गर्नु लोकतन्त्र प्रेमीहरुको अभिभारा रहेको बताउनुभयो ।
साधारण सभाले प्रष्ठिानका महासचिव दयामान कर्माचार्यले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिबेदन र कोषाध्यक्ष नरेन्द्र भुजुले प्रस्तुत गर्नुभएको आर्थीक तथा लेखा परिक्षक प्रतिबेदन पारित गरेको थियो ।