सबै हिमाल आरोहणका लागि खुला राष्ट्रपति पौडेलको सुझाव

भक्तपुर, कार्तिक १५
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेका सबै हिमाल आरोहणका लागि खुला गर्नुपर्ने बताउनुभएको छ । पर्वतारोहण संघको ५० औं वार्षिकोत्सव समारोहमा बुधबार उहाँले अनगिन्ती हिमालहरूमध्ये आरोहणका लागि अनुमति नभएका हिमालहरू तत्काल खुला गर्नुपर्ने बताउनुभएको हो ।
“नेपालमा अनगिन्ती हिमाल छन्, जुन औपचारिक रुपमा आरोहणका लागि खुला गरिएको छैन । ती हिमालको आरोहणका अनुमति दिन र प्रवद्र्धन गर्न तत्काल पहल लिन जरुरी छ”, राष्ट्रपति पौडेलले भन्नुभयो, “म नेपाल सरकारलाई ती हिमालको व्यवस्थापन र प्रवद्र्धनको जिम्मेवारीका लागि उपयुक्त निर्णय लिन पनि सुझाव दिन चाहन्छु ।”


उहाँले हिमालहरूको व्यवस्थापन र प्रवद्र्धनका लागि नेपाल पर्वतारोहण संघ राम्रो साझेदार हुन सक्ने बताउनुभयो । उहाँले नेपाल सरकारले २७ वटा हिमालको आरोहण अनुमति व्यवस्थापन गर्न दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको र हिमाल व्यवस्थापनबाट प्राप्त आम्दानीलाई यसले हिमाली पर्यटनका लागि जनशक्ति उत्पादन र हिमाली पर्यटन प्रवद्र्धनमा उपयोग गर्दै आएकोमा प्रशंसा गर्नुभयो ।
राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण महासंघ र युनियन अफ एशियन अल्पाइन एसोसिएसन मार्फत संघले कायम राखेको विश्वव्यापी सञ्जालले हाम्रो पर्वतीय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले पर्वतीय पर्यटनको विकास र प्रवद्र्धनका लागि थप काम गर्न नेपाल सरकार र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुझाव दिनुभयो ।