यसवर्षको पहिलो ‘कथिन चीवर दान’ सुनागुथिस्थित बौद्धजन विहारमा सम्पन्न

सुनिता तुलाधर, ललितपुर, कार्तिक १३ गते ।

यसवर्षको प्रथम कथिन चीवर दान ललितपुरको सुनागुथिस्थित बौद्धजन विहारमा आज सम्पन्न भएको छ । भिक्षु धर्मगुप्त महास्थविरले उक्त विहारमा विनयपूर्वक ३ महिना वर्षावास पुरा गर्नुभएको उपलक्ष्यमा सो कथिन चीवरको आयोजना गरिएको हो ।
ललितपुर, बालकुमारी निवासी सुष्मा श्रेष्ठ बज्राचार्य लगायत परिवारहरुले उक्त कथिन चीवर दानको आयोजना गरेका हुन ।
सो कार्यक्रममा नेपालका आठौं संघनायक एवं बोधिचर्या विहार, बनेपाका विहार प्रमुख भिक्षु बोधिसेन महास्थविरले उपस्थित उपासकउपासिकाहरुलाई शील प्रदान गरी शुभारम्भ गर्नुभएको थियो । यसैगरी भिक्षु सुमेध महास्थविरले बुद्ध पुजा गराउनु भएको थियो ।

कथिन चीवर दानको महिमा, आनिशंसका बारेमा भिक्षु सोमरत्नले उपस्थित उपासकउपासिकाहरुलाई धर्मदेशना गर्नुभएको थियो । कथिनदानसँग सम्बन्धित संयुक्त निकायको तिंसमत्तसुत्तका पालि गाथाहरु वाचन गर्नुहुँदै उहाँले उपासकउपासिकाहरुद्वारा गरिने यस कथिनदानका कारण भिक्षुहरुको श्रमणधर्म पालनामा सहजता हुने बताउनुभयो । यसदानको आनिशंस भिक्षुहरुलाई पनि ५ प्रकारले प्राप्त हुने तथा दाताहरुलाई पनि ५ प्रकारले नै फल प्राप्त हुने उहाँले धर्मदेशनाका क्रममा बताउनुभयो ।
साथै कार्यक्रमको अन्तमा उक्त विहारका विहार प्रमुख भिक्षु धर्मगुप्त महास्थविरले पुण्यानुमोदन गराउनु भएको थियो ।

उक्त उत्सवमा ८० जना अष्टपरिष्कारका दाताहरुले भिक्षु संघलाई अष्टपरिष्कार दान गरेका थिए । त्यसपछि कार्यक्रममा उपस्थित उपासकउपासिकाहरुले भिक्षु गण एवं अनागारिका गुरुमाहरुलाई दानप्रदान गरेका थिए ।
कथिनोत्सवको शुरुमा कथिन चीवरलाई बाजागाजाका साथ सुनागुथि क्षेत्रमा शोभायात्रा निकालिएको थियो ।
थेरवाद बुद्ध धर्ममा भिक्षुहरुको तीन महिने वर्षावास पुरा भएको उपलक्ष्यमा कथिन चीवर दानको आयोजना गरिन्छ । यस दानलाई बौद्ध धर्ममा ठूलो पुण्य कार्यको रुपमा लिईन्छ ।

यसवर्षकाे कथिन समय तालिका