स्थानीय तह जनताको नजिकको सरकार–उपाध्यक्ष अर्याल

भक्तपुर, कार्तिक १३
राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले स्थानीय तह जनताको नजिकको सरकार भएको बताउनुभएको छ । उपाध्यक्ष अर्यालले सोमवार भक्तपुर नगरपालिकाका प्रमुखसँगको भेटमा सो बताउनुभएको हो ।
भेटमा उपाध्यक्ष अर्यालले भक्तपुर नगरपालिकाले सबै क्षेत्रमा गरिरहेको काम अनुकरणीय र प्रशंसनीय भएको बताउनुभएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । उहाँका अनुसार भेटमा देशको समसामयिक राजनीतिक विषयमा समेत कुराकानी भएको थियो ।
सो अवसरमा प्रमुख प्रजापतिले संसदमा विचाराधीन शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय पुनःस्थापना गर्नु संघीयता र संविधानविपरीत भएको बताउँदैं जिल्ला स्तरीय कार्यालय खारेज गरी पालिकाअन्तर्गत राख्न सके राज्यको खर्च कम हुने धारणा व्यक्त गर्नुभयो । राजनीति देश र जनताको हितमा केन्द्रित हुनुपर्ने भन्दै उहाँले उच्च पदाधिकारीहरु राम्रो भए देश राम्रो हुने बताउनुभयो ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, अर्यालका स्वकीय सचिव रमाकान्त प्रसाद चौधरी, अधिवक्ता कविता ढुंगाना र भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवालको उपस्थिति रहेको थियो ।