भक्तपुरमा बजार अनुगमनमा ३ लाख १८ हजार जरिवाना

भक्तपुर, कार्तिक २
भक्तपुरमा बजार अनुगमनका क्रममा गत साउन यता ३ लाख १८ हजार २ सय रुपैंया जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहिवार आयोजना गरेको बजार अनुगनको समिक्षा तथा पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी दिएको हो ।
जिल्ला प्रशासन कार्यालयको अगुवाईमा गरिएको बजार अनुमनका क्रममा कैफियत भेटिएका पसलहरुलाई सो जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो ।
अनुगमनका क्रममा म्याद नाघेका, सडेगलेका र लेभव नभएका ४ लाख ४९ हजार १९७ रुपैंया बराबरको वस्तु जफत गरी नष्ट गरिएको सहायक प्रजिअ निरौलाले बताउनुभयो ।


आर्थिक वर्षको पहिलो दिन साउन १ गते कमलविनायकस्थित एक रासायनिक मल पसलमा अनुगमन गरी अवैध रुपमा बढी मूल्यमा विक्रि वितरण गरिरहेको १३९ बोरा विभिन्न प्रकारका मल जफत गर्नुका साथै एक लाख ७५ हजार जरिवाना गरेको जिल्ला प्रशासनले त्यस यता ९ वटा मासु पसल, पानी उद्योग २ वटा, डेरी र बेकरी ११ वटा, मिठाई पसल ७ वटा, फलफुल पसल ३ वटा, रेष्टुरेन्ट ३, खाद्यान्न, किराना पसल र मार्ट ३३ वटा गरी कुल ६९ वटा पसलहरुमा अनुगमन गरिएको निरौलाले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बजार अनुगमनलाई नियमितरुपमा गर्दै जाने तयारी भइरहेको बताउनुभयो । “यो बजार अनुगमन चाडपर्व लक्षित मात्र होइन प्रत्येक महिना नियमित र निरन्तर गर्ने तयारी भइरहेको छ,” उहाँले भन्नुभयो ।
उहाँले अनुगमनले बजारमा अखाद्य र म्याद गुज्रेका, लेभल नभएका वस्तु बिक्रि वितरण जसगता आउनुका साथै व्यवसायीहरु पनि व्यवसाय सञ्चालनका सम्बन्धमा पालना गर्नेपर्ने कानुनी व्यवस्थाका बारेमा समेत जानकारी प्राप्त हुने बताउनुभयो ।


घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख आशिष पौडेलले अनुगमनका क्रममा दिएका विभिन्न सुझाव र निर्देशनको पालना भए नभएको बारेमा पुनः ती पसलहरुमा अनुगमनका लागि जाने योजना रहेको बताउनुभयो ।
भक्तपुर उद्योग वाणिज्य संघका सचिव विश्वराम दुवालले अनुगमनलाई थप प्रभावकारी बनाउन संघले आवश्यक सहयोग गर्न तयार रहेको बताउँदैं अनुगमनका क्रममा अनावश्यक दुःख दिने गरेको गुनासो संघमा आएको जानकारी गराउनुभयो ।
राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्च भक्तपुरका संयोजक मनोज थापाले उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर गर्ने वस्तु बिक्रिमा राख्नु गम्भिर गल्ती भएको बताउँदैं त्यस्ता व्यवसायीलाई कानुनबमोजिम कारवाही गर्न पछि हट्न नहुनेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले बजार अनुगमनलाई थप प्रभावकारी बनाई उपलब्धीमूलक बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अनुगमनलाई वर्षभरी नियमितरुपमा गरिरहनु पर्ने सुझाव दिनुभयो । “चाडपर्व लक्षित अनुगमनलाई आम नागरिकले नकारात्मकरुपमा लिने गरेको छ । यसलाई थप प्रभावकारी र उपलब्धी मूलक बनाउन अनुगमनलाई नियमित सञ्चालन गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
घरेल तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजाले भक्तपुरका स्थानीय घरेलु उद्योग परम्परागतरुपमा सञ्चालन भइरहेको जानकारी दिँदैं त्यस्ता उद्योगहरुले उत्पादन गर्ने वस्तुको प्याकेटमा उपभोग्य मिति उल्लेखित लेवल टाँस्ने कार्य गर्न व्यवहारिक समस्या देखिएको बताउनुभयो ।
कार्यक्रममा उपस्थित पत्रकारहरु महासंघका सचिव संजीप घिमिरे शुभचिन्तक, सहसचिव हेमराज ढकाल, सदस्यहरु हरिसुन्दर छुंकालगायतले अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभएको थियो ।