बजारमा छ्यापछ्याप्ती म्याद नाघेका खाद्यवस्तु

भक्तपुर, कार्तिक २
भक्तपुरका स्थानीय बजारमा म्याद नाघेका, लेवल नभएका र कुहिएका खाद्य वस्तु छ्यापछ्याप्ती भेटिएका छन । चाडपर्वलाई लक्षित गरी भक्तपुरमा गरिएको बजार अनुगमनका क्रममा साना किराना पसलदेखी ठूला मार्ट, थोक बिक्रेता र डेरी पसलसम्म म्याद नाघेका, लेवल नै नभएका र कुहिएका खाद्य वस्तु भेटिएको हो ।
यसैगरी मासु पसल, मिठाई पसल र डेरी पसलमा गरिएको अनुगमनमा सरसफाई नभएको, कुहिएको र ढुसी परेको र खाद्य वस्तु समेत बिक्रिका लागि राखिएको पाईएको छ ।
पटक पटकको बजार अनुगमनका क्रममा सचेत गराएका व्यवसायीले समेत विगतका गल्ती पुनः दो¥याएको पाईएको छ । केहीले भने विगतमा गरिएको बजार अनुगमनका क्रममा दिएका निर्देशन पालना गरिएको पाईएको छ ।


भक्तपुरमा बडादशैं, तिहार र छठलाई लक्षित गरी चाँगुनारायण नगरपालिका, जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय। सूर्यविनायक नगरपालिका, भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिकाले कहिले संयुक्त त कहिले छुट्टाछुट्टै टोली बनाएर बजार अनुगमनलाई तिव्रता दिएको छ ।
चाँगुनारायण नगरपालिकाले वडा नं. १ को दुवाकोट र वडा नं. ६ नगरकोटलगायतका क्षेत्रमा बजार अनुगमन गरेको छ । सूर्यविनायक नगरपालिकाले बालकोट, सल्लाघारी, सूर्यविनायक, जिल्ला प्रशासन कार्यालयको अगुवाईमा जिल्लाका विभिन्न क्षेत्रको बजार अनुगमन गरी म्याद नाघेका, लेवल नभएका र अनुमति विना प्याकेजिङ गरिएका खाद्य वस्तु जफत गरी नष्ट गर्ने र व्यवसायीलाई स्थलगतरुपमै उपभोक्ता हित संरक्षण ऐन २०७५ को विभिन्न दफा बमोजिम दण्ड जरिवाना लिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो ।
उहाँले अनगुमनका क्रममा व्यवसायीहरुले कतिपय म्याद नाघेका वस्तुहरु पनि बिक्रिका लागि राखिएको पाईएको र केहीले भने पहिले दिएको निर्देशन अनुसार अलग राखिएको पाईएको चाँगुनारायण नगरपालिकाका प्रशासकिय अधिकृत सुरज पौडेलले बताउनुभयो ।


अनुगमनका क्रममा मासु पसल र डेरी पसलमा सडेगलेका वस्तु र बिक्रिका लागि तयार पारिएका ताजा खाद्यवस्तु एउटै फ्रिजमा राख्ने गरेको पाईएको सूर्यविनायक नगरपालिकाका अनुगमन अधिकृत कपिल अधिकारीले बताउनुभयो ।
उपभोक्ता हित संरक्षण मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले बजारमा व्यवसायी अझै सचेत नभएको पाईएको बताउनुभयो । “आम उपभोक्ताको स्वास्थ्यलाई ख्याल गरी स्वच्छ र स्वस्थ खाद्य वस्तु मात्र बिक्रि गर्नुपर्छ भन्ने चेत अझै पनि व्यवसायीमा नभएको पाईएको छ,” उहाँले भन्नुभयो । व्यवसायिक संघ संगठनले व्यवसायीलाई सचेतना कक्षा पनि बेलाबेलामा सञ्चालन गर्नुपर्ने खाँचो देखिएको उहाँको भनाई छ ।
“व्यवसायीलाई सम्बन्धीत व्यवसायी संघ संस्थाहरु जस्तो भक्तपुर उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग संघ, भक्तपुर चेम्बर अफ कमर्शलगायतका संघसंस्थाहरुले व्यवसायीहरुलाई बेला बेलामा व्यवसाय सञ्चालन गर्दा पालना गर्नुपर्ने ऐन, नियम, निर्देशिका, व्यवसायीक आचरण र सरसफाईलगायतका विषयमा सचेतना कक्षा सञ्चालन गरी उनीहरुलाई सचेत बनाईनुपर्छ तर भक्तपुरमा त्यसो गरेको पाईंदैन,” उहाँले भन्नुभयो ।


नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले बजार अनुगमनलाई हरेक महिना नियमितरुपमा निरन्तरता दिनुपर्ने बताउनुभयो । “चाडपर्वमा मात्र बजार अनुगमन गर्दा व्यवसायीले मात्र होइन आमनागरिकले पनि हेर्ने दृष्टिकोण सकारात्मक छैन । बजार अनुगमन नियमित नभएकाले पनि बजारमा सुधार नदेखिएको हो,” उहाँले भन्नुभयो । बजार अनुगमन व्यवसायीलाई हतोत्सायी बनाउने भन्दा पनि प्रोत्साहित बनाउने उद्देश्यले गरिनुपर्ने उहाँले सुझाव दिनुभयो ।
अनुगमनका क्रममा कतिपय स्थानीय उत्पादनमा लेवल नभएको पाईएको घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रतिनिधि सरस्वती पौडेलले बताउनुभयो । “प्याकेजिङका लागि खाद्यबाट अनुज्ञापत्र लिनुपर्छ भन्ने ज्ञान समेत नभएको पाईयो,” उहाँले भन्नुभयो ।


भक्तपुर उद्योग वाणिज्य संघका प्रतिनिधि विश्वराम दुवालले व्यवसाय दर्ता भन्दा पनि म्याद गुज्रेका, लेवल नभएका र सरसफाई नै अहिलेको बजारको समस्या देखिएको बताउनुभयो । उहाँले संघले व्यवसाय दर्ता र सञ्चालन सम्बन्धी सहायक पुस्तिका समेत प्रकाशन गरी व्यवसायीलाई व्यवसाय सञ्चालन गर्दा अपनाउनु पर्ने आवश्यक विवरणसहितको जानकारी दिने गरेको बताउँदैं व्यवसायीले सो अनुसार अझै नगरेको पाईएको संघका प्रतिनिधि विश्वराम दुवालले बताउनुभयो ।