मध्यपुर थिमिमा बजार अनुगमन तिब्र

भक्तपुर, असोज ३०
मध्यपुर थिमि नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ । नेपालीहरुको ठूलो पर्व बडादशैं शुरु भएसँगै मध्यपुर थिमि नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको हो ।
चाडपर्वको बेला मूल्यबृद्धि गर्ने, सामानको अनावश्यक भण्डारण गरी कृतिम अभाव सृजना गर्ने, कालोबजारी गर्ने, गुणस्तरहिन वस्तुको बिक्रि वितरण गरी उपभोक्ता ठगी गर्ने, अखाद्य एवम् म्याद गुज्रेका र लेवल नभएका वस्तु बिक्रि वितरण गर्ने प्रवृत्ति देखा पर्ने भएकाले बजारलाई स्वस्थ बनाई आम उपभोक्तको अधिकार रक्षाका लागि बजार अनुगमनलाई तिव्रता दिएको सामूदायिक शाखा एवम् महाशाखा प्रमुख तुलसीभक्त तकोले बताउनुभयो ।

“चाडपर्वको समयमा बजारमा सामग्रीहरुको कृतिम अभाव हुन नदिन, अखाद्य बस्तुको किनवेच र कालोबजारीमा नियन्त्रण गर्न मध्यपुर थिमि नगरपालिकाको बजार अनुगमन टोलीले बजार अनुगमनलाई तिव्रता दिएको हो,” उहाँले भन्नुभयो ।

उहाँले व्यवसायीलाई हत्तोत्सायी बनाउने भन्दा पनि उनीहरुलाई स्वस्थ र स्वच्छ वातावरणमा व्यवसाय सञ्चालन गरी आम उपभोक्ताको हित र रक्षाको लागि प्रोत्साहित गर्ने उद्देश्यले बजार अनुगमन गरिएको बताउनुभयो ।
नगरपालिका, प्रहरी, नगरप्रहरी र सञ्चारकर्मी सम्मिलित अनुगमन टोलीले मध्यपुर थिमिको मूख्य बजार क्षेत्र बहाखाबजार, शंखधरचोकलगायतका मिठाई पसल, किराना पसल, खाद्यान्न पसल, मासु पसल, मार्टमा अनुगमन गरी विभिन्न कमीकमजोरी औंल्याएर सुझाव तथा निर्देशन दिएको तकोले जानकारी दिनुभयो ।


अनुगमनका क्रममा मिठाई पसल र मासु पसलमा सरसफाईको कमी देखिएको, मिठाई पसलले खाद्य अनुज्ञापत्र नलिई प्याकेजिङ गरिएको, व्यवसाय दर्ता नविकरण, ढक तराजुको जाँच नविकरण गरिएको पाईएको उहाँले बताउनुभयो । अनुगमनलाई दशैं बिदा अघिसम्म निरन्तरता दिईने र दशैंपछि पनि यसलाई नियमित गरी बजारलाई अनुशासित बनाउने उहाँले जानकारी दिनुभयो ।