लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने प्रयास भइरहेको छ–उपप्रधानमन्त्री खड्का

भक्तपुर, असोज ३०
नेपाली कांग्रेसका उपसभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको प्राप्त उपलब्धीसँगैं संघीय लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने प्रयास भइरहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको प्रशिक्षण विभागले मंगलवार भक्तपुरमा आयोजना गरेको ‘स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी सङ्गठनबीचको अन्तरसम्बन्ध एवं वर्तमान राजनीतिक चुनौती र भविष्य’ विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले संविधानको कार्यान्वयन र लोकतान्त्रिक व्यवस्थाको संस्थागत विकासमा थप चुनौती देखा परेको बताउनुभएको हो ।


“अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयनमा अझै चुनौती बाँकी रहेको छ । विभिन्न बहानामा, विभिन्न कारणले हामीले गरेका कतिपय कामबाट, कतिपय निर्णयबाट तिनै कुरालाई बोकेर मुद्दा बनाएर संविधानलाई चलाउने प्रयास भइरहेको छ,” उपप्रधानमन्त्री खड्काले भन्नुभयो, ‘‘संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमार्फत प्राप्त उपलब्धिहरुलाई हल्लाउने प्रयास भइरहेको छ । त्यसलाई जोगाउनु छ, कार्यान्वयन गर्नु छ ।”
संविधानले दिएको मौलिक हक जोगाउने चुनौती थपिएको बताउँदैं उहाँले यसमा कांग्रेस जिम्मेवार भएर लाग्नुपर्ने खाँचो रहेको औंल्याउनुभयो । दलहरूले संविधान सभामार्फत सिङ्गो नेपाली जनता र संसारका लोकतन्त्रवादीलाई दिएको विश्वास पूरा गर्ने प्रक्रिया अगाडि बढिरहेको उहाँको भनाइ थियो ।


उहाँले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा दलहरु चुकेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “२०७२ सालमा जारी गरेको संविधानपछिको ८ वर्षको अवधिमा सम्पूर्ण राजनीतिक दलको ध्यान संघीय ऐन बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा त्यो हुन सकेन । संंघीय कानून पहिलो प्राथमिकतामा राख्नुपर्ने भए पनि अहिलेसम्म अल्मलिएको छ । सबै राजनीतिक दलहरूको अगाडि अहिले संविधान कार्यान्वयनको चुनौती रहेको छ ।”
उहाँले सिंगो नेपाली जनता र मुलुकलाई संविधानले जोड्न बाँकी रहेको बताउँदैं बताउनुभयो । “हामीले संविधानसभामार्फत सिंगो नेपाली जनतालाई दिएको विश्वास र वचन पूरा गर्न बाँकी छ । सिंगो मुलुकलाई यो संविधानसँग जोड्न बाँकी छ,” उहाँले भन्नुभयो ।


उहाँले जनतामा छाएको निरासालाई आशा र विश्वासको वातावरणमा बदल्ने चुनौती कांग्रेसका जनप्रतिनिधिको काँधमा आएकाले कांग्रेसबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिहरुले पार्टीसँगको समन्वयमा जनताको मन जित्ने किसिमले काम गर्न निर्देशन समेत दिनुभयो ।
उहाँले अरुलाई दोष दिएर भन्दा पनि आफ्नो स्वमूल्यांकन गरेर अघि बढ्नुपर्ने खाँचो रहेको बताउनुभयो । उहाँले आफ्नो गल्ती कमजोरी औंल्याउने व्यक्ति आफ्नो लागि सबैभन्दा नजिकको हितैषी, अभिभावक, नेताको रुपमा लिने गरेको बताउनुभयो ।
उहाँले कांग्रेसप्रति जनताको गुनासो बढ्न नदिन प्रत्येक नेता र जनप्रतिनिधिको व्यवहार र बोलीबचनमा सुधार गर्दै जनताको घरदैलोमा गएर जनताको पीडामा मल्हम लगाउनुपर्नेमा जोड दिनुभयो ।


नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले कांग्रेस बलियो भए देश बलियो हुन्छ भन्दै कांग्रेसलाई एक ढिक्का बनाएर बलियो बनाउन गाउँ तहदेखि नै लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले भेदभावसहित ढंगले काम गर्नुपर्ने बताउनुभयो । उहाँले केही जनप्रतिनिधिले निर्वाचित भएपछि पार्टीलाई बिर्सने गरेको टिप्पणी गर्दै भोली पनि निर्वाचन आउँछ र निर्वाचन लड्नुपर्छ भन्ने मनमा राखेर पार्टीसँग पनि समन्वय गरेर जनप्रतिनिधिहरुले काम गरे आगामी निर्वाचनमा पनि कांग्रेसलाई हराउने ताकत कसैमा नहुने बताउनुभयो ।
“टिकटको लागि पार्टी चाहिने, चुनाव लड्न पार्टी चाहिने, निर्वाचन जित्न पार्टी चाहिने र निर्वाचन जितिसकेपछि पार्टी चटक्कै बिर्सिने परिपाटी पनि छ,” उहाँले भन्नुभयो, “त्यस्ता साथीहरुले पार्टीको नीति सम्झनुस, पार्टीले गरेका प्रतिवद्धता सम्झनुस, पार्टीको आदर्श, मूल्य मान्यता सम्झनुस र अर्को निर्वाचनपनि आउँछ र निर्वाचन लड्नुपर्छ भन्ने पनि सम्झनुस ।”


कार्यक्रममा बागमती प्रदेशअन्तर्गत १३ जिल्लाका पार्टी सभापति, प्रदेश समितिका पदाधिकारी, प्रदेश सांसद, प्रदेश प्रतिनिधि र प्रदेशअन्तर्गतका स्थानीय पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, भक्तपुरका स्थानीय नेता कार्यकर्तालगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा डा खिमलाल देवकोटा, डा बुद्धिमान श्रेष्ठ, प्रा. कृष्ण खनाल, डा सुरेश आचार्यले अभिमुखीकरण गर्नुभएको थियो ।