नेसनल प्याब्सन भक्तपुरमा आवद्ध विद्यालयका प्रिन्सिपलहरु एसईईको पक्षमा

भक्तपुर, असोज २९
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) भक्तपुरमा आवद्ध विद्यालयका प्रिन्सिपलहरुले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउन नहुने पक्षमा बहश शुरु गरेका छन ।
नेसनल प्याब्सन भक्तपुरले सोमवार आयोजित बडादशैँ, तिहार, नेपाल संवत ११४४ र छठ पर्वको शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रममा सहभागी प्रिन्सिपलहरुले एसईई खारेजी गर्न नहुनेमा जोड दिएका हुन ।
कार्यक्रममा नेसनल प्याब्सन भक्तपुर जिल्ला अध्यक्ष संजय खड्काले एसईई खारेजी गर्नुपर्ने भन्ने विषयमा विभिन्न प्रकारले बहसहरु सिर्जना भइरहेको सन्दर्भमा छलफलका लागि विषय प्रवेश गराउनु भएको थियो ।


त्यसपछि कार्यक्रममा नेसनल प्याब्सनका वरिष्ठ उपाध्यक्ष शिवकृष्ण कवां, उपाध्यक्ष राम प्रसाद खाताखो, सचिब कुमार थापा मगर, सहसचिब दिनेश शाक्य, कोषाध्यक्ष विक्रम थापा, सहकोषाध्यक्ष रत्न राई लगायत सहभागी सदस्य एवं उपस्थित प्रिन्सिपलहरुले मुल्याकंनका लागि कुनै न कुनै प्रकारको परीक्षा प्रणाली आवश्यक रहेको उल्लेख गर्दै एसईई हटाउन नहुनेमा जोड दिनुभएको थियो । उहाँहरुले शिक्षण सिकाई मुल्याकंन गर्ने विधिको जरुरी हुने भएकाले उक्त प्रणाली हटाउन नहुने बताउनुभएको थियो ।
कार्यक्रममा नवनिर्वाचित कार्यसमितिको तर्फबाट बिक्रम ढुकुछु, जिबि खड्का र पुण्यराम कवांलाई जिल्ला समिति सल्लाहकार तथा अधिवक्ता राधाकृष्ण भण्डारीलाई कानुनी सल्लाहकारको मनोनयन पत्र प्रदान गरिएको थियो । साथै काठमाण्डौ फन भ्यालीले नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गरेको थियो !