नेपालमा दलाल पुँजीपति वर्गको हावी – अध्यक्ष बिजुक्छेँ

भक्तपुर, असोज २९
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशमा विदेशी दलाल पुँजीपति वर्गको हावी भइरहेको बताउनुभएको छ । भक्तपुर ट्रक व्यवसायी संघ (रुपान्तरित) भक्तपुर ट्रक व्यवसायी प्रा.लि.को २२, २३ र २४ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनको सोमबार उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेंले मुलुकको आर्थिक विकासका लागि राष्ट्रिय पुँजीपति वर्ग मिलेर विदेशी दलाल पुँजीपति वर्गको विरोधमा संघर्ष गर्नु आवश्यक भएको समेत बताउनुभयो ।
उहाँले हातहतियार बोक्ने मान्छेजस्तै सवारीसाधन भएका मानिस पनि सचेत हुनुपर्ने बताउँदै सरकारले सवारी चालकहरुलाई लाइसेन्स दिने बेला ध्यान दिनुपर्ने, राजमार्गभन्दा १५—२० मि. टाढा बस्ती बसाल्नुपर्ने र सवारीसाधन खरिद गर्नुअघि ग्यारेजको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
देशको नीति निर्माण गर्ने थलो संसद राम्रो नभएसम्म देशको अवस्था राम्रो नहुने बताउँदै उहाँले सदनमा व्यवसायीहरू पुग्न सके सम्बन्धीत व्यवसायको हितमा ऐन कानुन निर्माण गर्न सहज हुने तथा देशलाई माया गर्ने र देशको हितमा काम गर्ने कर्मचारीहरूको बाहुल्यता भए देशको विकास छिटो हुने बताउनुभयो ।


पार्किङको लागि भक्तपुर नपाले ठाउँ ठाउँमा ग्यारेज निर्माण गर्नुपर्ने बताउँदै उहाँले सरकारले एउटै देशको सवारीसाधन खरिद गर्न बन्द गर्नुपर्ने र विदेशीहरूको बैंकमा पैसा राख्न नहुने धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७२ को विनाशकारी भूकम्पमा भक्तपुर नगरको भग्नावशेष व्यवस्थापनमा भक्तपुरका ट्रक व्यवसायीले अतुलनीय सहयोग गरेको स्मरण गर्दै व्यवसायी संघले चालक सहचालकहरुलाई सवारी साधन प्राविधिक पक्ष, सवारी चालक अनुमति पत्रको लागि आवश्यक तालिम, सवारी सम्बन्धी ऐन नियम र ट्राफिक प्रहरी सम्बन्धी ऐन नियमका बारेमा जानकारी गराए दुर्घटना न्यूनीकरणका लागि सहयोग पुग्ने बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले ३ स्थानमा पार्किङ निर्माण गरिरहेको र एक स्थानमा निर्माणको तयारी गरिरहेको जानकारी दिनुभयो ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले यातायातको व्यवस्थापनका लागि केही नीतिगत समस्या रहेको औंल्याउँदैं यातायात क्षेत्रको दायरा बढेको परिवेशमा पुराना कानुनले सम्बोधन गर्न नसकिने भएकाले समय सापेक्ष परिमार्जन गर्नुपर्ने बताउनुभयो । उहाँले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउनु पर्ने र त्यसका लागि विभागले काम गर्ने बताउनुभयो ।
नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर श्वारले यातायात व्यवसायीहरूको समस्या सरकारसमक्ष राख्दा पनि सरकारले गम्भीरता पूर्वक नलिएको गुनासो गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सवारी चालकहरूको गतिविधि व्यवस्थित गर्न संघ, प्रदेश, स्थानीय तह तथा व्यवसायी र सरोकारवालाहरुबीच समन्वय हुनुपर्ने बताउनुभयो ।
भक्तपुर ट्रक व्यवसायी संघका अध्यक्ष लक्ष्मीप्रसाद गोराको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव मानन्धरले शुभकामना मन्तव्य राख्नुभएको थियो ।