भक्तपुरका सांसदहरु विकासमा सहकार्य र समन्वय गरेर अघि बढ्ने

भक्तपुर, असोज २८
भक्तपुरका सांसदहरुले जिल्लाको विकासमा सहकार्य र समन्वय गरेर अघि बढ्ने बताएका छन । नेपाली कांग्रेस सूर्यविनायक नगर कमिटीले शनिवार आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सहभागी संघीय र प्रदेश सांसदहरुले राजनैतिक सिद्धान्त र वैचारिक मतभिन्नता भएपनि जिल्लाको विकासमा सहकार्य र समन्वय गरेर अघि बढ्ने बताएका हुन ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति समेत रहनुभएका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले पछिल्लो समय जे जस्ता राजनीतिक गतिविधि भएपनि मुलुकमा राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभयो । उहाँले समृद्ध भक्तपुर बनाउने अभियानमा सबैको साथ र सहयोगको खाँचो रहेको बताउनुभयो ।
“देश आर्थिकरुपमा अप्ठ्यारो स्थितीमा रहेको छ । देशलाई राजनीतिक रुपमा भन्दा पनि आर्थिकरुपमा अघि बढाउन आवश्यक छ । राजनीतिक कार्यगत एकता गरेर सबै राजनीतिक एक ठाउँमा उभिएर यो वा त्यो, मेरो तेरो नभनीकन विकास निर्माणका काममा हामी एक ठाउँमा छौं । राजनीतिक विचार र सिद्धान्त एक ठाउँमा छ । हामी समृद्ध भक्तपुर बनाउने अभियानमा छौं । यसमा सबैको साथ र सहयोगको खाँचो छ,” उहाँले भन्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी संसदिय दलका प्रमुख सचेतक एवम् सांसद सन्तोष परियारले निर्वाचित भएदेखी नै भक्तपुरको विकास र गतिविधिको बारेमा नेपाली कांग्रेससँग निरन्तर छलफल र सरसल्लाह गरी अघि बढेको जानकारी गराउँदैं भक्तपुरमा विगतमा जुन खालको विकासको नमूना प्रस्तुत गरियो त्यसलाई बदलेर अघि बढ्नुपर्ने खाँचो रहेको बताउनुभयो ।
बागमती प्रदेशका सांसद किरण थापाले एउटा दलको झण्डा र चुनाव चिन्ह लिएर निर्वाचनमा गएपनि निर्वाचित भएपछि जनप्रतिनिधि सबै दल र जनताको प्रतिनिधि भएर काम गर्नुपर्ने बताउँदैं भक्तपुरको विकास, योजना र बजेट ल्याउने सम्बन्धमा सबै दल एक ठाउँमा उभिनु पर्ने र त्यसका लागि आफु पनि तयार रहेको बताउनुभयो ।
नेपाली कांग्रेस सूर्यविनायक नगरसभापति निशान ढुंगेलले राजनीतिक प्रतिष्पर्धाबीच कार्यगत एकता हुनुपर्छ भन्ने सन्देश प्रवाहका लागि कार्यक्रममा सबै दल र जनप्रतिनिधिहरुलाई निमन्त्रणा गरेर नयाँ पराम्पराको थालनी गरेको बताउनुभयो ।