आ.व. २०७९÷०८० मा शुभकामनाको मूनाफा २ करोड ६० लाख

भक्तपुर, असोज २७
भक्तपुरको सूर्यविनायकस्थित शुभकामना वचत तथा ऋण सहकारी संस्था लि.ले गत आर्थिक वर्ष २०७९÷०८० मा २ करोड ६० लाख ३१ हजार ९७९ रुपैंया खुद नाफा गरेको छ ।
गत आ.व.मा विभिन्न शिर्षकमा १४ करोड ६३ लाख ६ हजार ९९८ रुपैंया आम्दानी गरेको शुभकामनाले व्याज, कर्मचारी, व्यवस्थापन, कार्यालय सञ्चालन। सहकारी कार्यक्रम, क्षमता अभिबृद्धि, गैर वित्तिय कार्यक्रम, कर्जा जोखिम कोष, शेयर लाभांश र सुरक्षित पुँजी, कर योग्य वचत र आयकरको खर्च समेत कटाएर २ करोड ६० लाख ३१ हजार ९७९ रुपैंया खुद नाफा गर्न सफल भएको हो ।
संस्थाको शनिवार सम्पन्न २३ औं वार्षिक साधारण सभामा संस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै सो जानकारी दिनुभएको हो । उहाँले गत आ.व.को मसान्तसम्म २१ लाख ४८ हजार बृद्धि भई कुल १० करोड ७ लाख ३९ हजार ४ सय रुपैंया शेयर पुँजी रहेको बताउनुभयो । संस्थामा वचत निक्षेप ९२ करोड ६४ लाख ८९ हजार ९२ रुपैंया, जगेडा कोषमा १३ करोड ६२ लाख ६२ हजार ५०५ रुपैंया रहेको छ ।
शुभकामनामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष शेयर सदस्य समेत बृद्धि भएको छ । संस्थामा आ.व. २०७८÷०७९ मा कुल ८ हजार ८१५ शेयर सदस्य रहेकोमा आ.व. २०७९÷०८० मा २३१ महिला, २३४ पुरुष र १२६ बाल वचतकर्ता बृद्धि भई ४४७८ महिला, ४११४ पुरुष, संस्था ९ र बाल वचतकर्ता ६८७ गरी कुल ९ हजार ४०६ शेयर सदस्य पुगेको संस्थाका अध्यक्ष रामप्रसाद कासुलाले जानकारी दिनुभयो ।
अध्यक्ष कासुलाले विश्वव्यापी आर्थिक मन्दी, सहकारी संस्थामा देखिएको आर्थिक संकटलगायतका कारण सहकारी प्रति सदस्यहरुको विश्वास कमजोर हुँदा पनि सदस्य केन्द्रीत र समूदायमा आधारित रहेर चलेका संस्थाहरुमा पनि छिटपुट समस्या देखिएको र स्थानीय बजारमाका सबै जसो व्यवसाय खस्किएको कारण सदस्यहरुको रोजगारी, उत्पादन तथा क्रयशक्तिमा कमी आएकोले अनुमान गरिए अनुसार वचत संकलन, ऋण लगानी नहुँदा मूनाफामा पनि कमी आएको बताउनुभयो ।


साधारण सभाको उद्घाटन गर्दै भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले सञ्चालक समिति, संस्थापक शेयर सदस्य, कर्मचारी, व्यवस्थापक सबैको सहकार्य, परिश्रम र मेहनतले सदस्यहरुको विश्वास आर्जन गर्दै शुभकामनाले आजको सफलता प्राप्त गरेको भन्दै प्रशंसा गर्नुभयो ।
उहाँले सहकारीले निम्न र मध्यम वर्गिय नेपालीहरुको साना साना व्यवसायमा लगानी गरेर उनीहरुको जीवनस्तर उकास्न ठूलो सहयोग गरेको चर्चा गर्दै अहिले सहकारी क्षेत्रमा जुन समस्या देखिएको छ, यसलाई एक अर्कामा विश्वास गरी सहकार्य, समन्वय गरी हल गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा शुभकामनाले छात्रवृत्ति वितरण गर्नुका साथै, असल ऋणी, असल वचत कर्ता, ज्येष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल वचत तथा ऋण सहकारी संघका सञ्चालक मन्दरा मिश्र, राष्ट्रिय सहकारी बैंक भक्तपुरका प्रवन्धक मुना केसी, जिल्ला सहकारी संघका कोषाध्यक्ष सावित्री धौभडेल, भक्तपुर जिल्ला वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष हरी बल्ल, शुभकामनाका निवर्तमान अध्यक्ष न्हुछे कुमार त्वायना, प्रमुख सल्लाहकार बालमुकुन्द सुवाललगायतले सहकारी क्षेत्रमा आएको संकटका बावजुद शुभकामनाले उत्कृष्ट कार्य गरेको बताउनुभयो ।
सूर्यविनायकमा आफ्नै भवनमा मूख्य कार्यालय रहेको शुभकामनाको भक्तपुरको नासमना र व्यासी गरी दुई स्थानमा सेवा केन्द्र रहेको छ । संस्थामा ऋण उपसमिति, शिक्षा उपसमिति, एक्सेस उपसमिति, पदपुर्ति उपसमिति, सामाजिक क्रिायकलाप उपसमिति, खेलकुद उपसमिति, प्रकाशन उपसमिति, व्याजदर परिमार्जन उपसमिति, महिला तथा बालबालिका उपसमिति, मृतक राहतकोष उपसमिति, लघुवित्त उपसमिति, नासमना सेवा केन्द्र व्यवस्थापन उपसमिति, व्यासी सेवा केन्द्र उपसमिति, कृषि तथा मल व्यवस्थापन उपसमिति क्रियाशिल रहेको संस्थाका उपाध्यक्ष निर्मला सुवालले जानकारी दिनुभयो । शुभकामनामा प्रवन्धक रेश्मी श्रेष्ठको नेतृत्वमा २५ जना कर्मचारी कार्यरत छन ।