भुलाँखेल सहकारीको नाफा १७ लाख

भक्तपुर, असोज २८
मध्यपुर थिमि–५ भुलाँखेलस्थित भुलाँखेल वचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७९÷०८० मा कुल १७ लाख १९ हजार ३४० रुपैंया खुद नाफा गर्न सफल भएको छ । संस्थाको शनिवार सम्पन्न १२ औं साधारण सभामा संस्थाका कोषाध्यक्ष रत्नमान शंखदेवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सो जानकारी दिनुभएको हो ।
संस्थाले आ. व. २०७९÷०८० मा २० करोड ९२ लाख ५४ हजार ५१४ रुपैंया ऋण लगानी गरेको जानकारी दिँदैं उहाँले सो वर्ष २९ करोड ९० लाख ७६ हजार ३८४ रुपैंया विभिन्न शिर्षकमा निक्षेप संकलन भएको बताउनुभयो ।
सहकारी ऐन २०७४ र नियमावली २०७५ बमोजिम नाफाको २५ प्रतिशत जगेडा कोष, बाँकीबाट कम्तीमा २५ प्रतिशत संरक्षित पुँजी फिर्ता कोष र शुन्य दशमलव ५ प्रतिशत सहकारी प्रवद्र्धन कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । सो अनुसार भुँलाखेलले गत आ.व.मा ४ लाख ८ हजार ३४३ रुपैंया जगेडा कोष, संरक्षित पुँजी फिर्ता कोष, ३ लाख ६ हजार २५८ रुपैंया र अन्य कोषमा ९ लाख १२ हजार ६४७ रुपैंया जम्मा गरिएको शंखदेवले बताउनुभयो ।
संस्थाको शेयर पुँजी २ करोड ९१ लाख ३० हजार रहेको भुँलाखेल सहकारीमा कुल सम्पत्ती ३४ करोड ७५ लाख २३ हजार ८ सय रुपैंया रहेको छ । संस्थामा १ हजार ५५१ जना शेयर सदस्य रहेको संस्थाका अध्यक्ष ओमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
संस्थाको साधारण सभा उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले सहकारी संस्थाको नियमनको लागि सहकारी ऐन जारी गरिसकेको बताउँदैं नियमावली जारी गर्ने तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।
उहाँले केही समय यता सहकारीमा देखिएको समस्याप्रति नगरपालिका गम्भिर रहेको बताउँदैं सहकारीका वचत कर्ता र शेयर सदस्यहरुले पनि सहकारीले कुन क्षेत्रमा कसरी लगानी गरिरहेको छ भनी चासो लिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले स्थानीय स्तरमा समूदायमा आधारित भएर स्थानीयले सञ्चालन गरेका सहकारीमा वचत फिर्ताको समस्या नभएको बताउँदैं केही प्रतिशत बढी व्याजको लोभमा सञ्चालकको पृष्ठभूमी नबुझीकन वचत नगर्न सुझाव दिनुभयो ।
सो अवसरमा संस्थाका ज्येष्ठ सदस्यहरुलाई सम्मान गर्नुका साथै बाल वचत कर्ताहरुलाई उपहार प्रदान गरिएको थियो ।