खबर प्राप्त भएको १० मिनेटभित्र प्रहरी घटनास्थल पुग्छ–एसपी बिष्ट

भक्तपुर, असोज २६
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) बेद बिष्टले आपराधिक घटना हुन लागेको र भएको खबर आएको १० मिनेटभित्र घटनास्थलमा प्रहरी पुग्ने बताउनुभएको छ ।
परिसरले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा एसपी बिष्टले नागरिकहरुलाई सचेत भई कुनैपनि आपराधिक गतिविधि हुन लागेमा प्रहरीलाई खबर गर्न आग्रह गर्दै खबर प्राप्त भएको १० मिनेटभित्र प्रहरी घटनास्थल पुग्ने व्यवस्था मिलाएको बताउनुभएको हो । “कुनैपनि घटना हुन लाग्यो वा भयो तुरुस्त प्रहरीलाई खबर गर्नुहोस । खबर प्राप्त भएको १० मिनेटभित्र प्रहरी घटनास्थलमा पुग्छ,” उहाँले भन्नुभयो ।
उहाँले चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गर्दै सादा पोशाकमा प्रहरी परिचालन गर्नुका साथै गस्तीलाई बढाएको बताउनुभयो । “विशेषगरी बडादशैं, तिहारलगायत ठूला चाडपर्वमा चोरी, लुटपाटलगायतका अपराधिक घटना बृद्धि हुने भएकाले रात्रीकालिन गस्तीका बढाउनुका साथै सादा पोशाकमा प्रहरी परिचालन गरी सूचना संकलनको कार्यलाई तिव्रता दिएको छ,” उहाँले भन्नुभयो ।
उहाँले चाडपर्वमा हुन सक्ने चोरी, लुटपाट, ठगी, स्न्याचिङ तथा जुवा तास लगायतका अपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गरी बडादशै, दिपावली तथा छठ पर्व लगायतका चाडपर्व सौहार्द पुर्ण वातावरणमा मनाउने व्यवस्था मिलाउनुका साथै जिल्लाको शान्ति सुरक्षालाई सन्तुलन बनाएर राख्न सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याएको बताउनुभयो ।
“चाडपर्वमा मादक पदार्थ सेवन गरी झै झगडा एवं होहल्ला गरी उच्छृङखल क्रियाकलापहरु गर्ने, बैंकहरुको एटिएम फुटाई चोरी, डकैती, लुटपाट गर्ने, स्न्याचिङ, वगालीमारा, डलर ठगी तथा जुवातास लगायतका अपराधहरु बढ्न सक्छ,” उहाँले भन्नुभयो, “सार्वजनिक यातायातमा बढी भाडा असुली, अनावश्यक हैरानी तथा क्षमताभन्दा बढि यात्रु बोक्न सक्ने, आतिस बाजी, पटका लगायतका विविध विष्फोटक पदार्थहरुको ओसारपसार तथा विक्रिवितरण हुन सक्ने र दैनिक उपभोग्य सामानहरुको कालोबजारी बढ्न सक्छ ।”
उहाँले नागरिकलाई सचेत पार्न आम नागरिकसँग समन्वय तथा सहकार्य गर्ने, जनचेतनामुलक कार्यक्रम गर्ने, जिङ्गल बजाउने, माईकिङ तथा जनचेतनामुलक पर्चा पम्प्लेट वितरण गर्ने , जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायसँग समन्वय गरी बजार अनुगमन गर्ने, आकस्मिक चेकिङ, मापसे चेकिङ तथा पिकेट, मोवाईल गस्ती जस्ता अन्य डिउटी परिचालन गर्ने लागु औषध नियन्त्रण र ट्राफिक प्रहरीको सहकार्यमा संयुक्त ला.प.से. चेकिङको व्यवस्था मिलाउने जानकारी दिनुभयो ।