चाँगुनारायणका वडामा विपद् जोखिम न्यूनीकरण सम्बन्धि अभिमुखिकरण

भक्तपुर, असोज २६
अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस (१३ अक्टोवर) २०२३ को अवसरमा चाँगुनारायण नगरपालिकाको विपद् व्यवस्थापन शाखाले १ देखी ८ नम्बर वडाका महिला समुह, कृषक समुह तथा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुका लागि विपद् जोखिम न्यूनीकरण सम्बन्धि अभिमुखिकरण गरेको छ ।
असोज २४ गतेदेखी २६ गतेसम्म ३ दिन सञ्चालन भएको अभिमुखीकरणको समापनमा नगरप्रमुख जीवन खत्रीले सन्देश दिनुहुँदै गरिबी, असमानता र भेदभाव बढ्दो प्रकोप जोखिमका कारण भएकाले समावेशीतालाई ध्यानमा राखेर नगरपालिकाले नगरस्तर, वडास्तर, समुदायस्तर, विद्यालयस्तरमा गतिविधीहरु सञ्चालन गर्दा संकटासन्न वर्गलाई प्राथमिकतामा राखेर कार्यक्रम तथा गतिविधिहरु संचालन गर्नको लागि यसै आर्थिक वर्षमा ३ करोड ६५ लाख ५० हजारको बजेट विनियोजन गरिएको बताउनुभयो ।


उहाँले चाँगुनारायण नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका बनाउनको लागि स्थानीय उत्थानशील कार्यढाँचा तयार गरी नगरपालिकाले तयार गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन लगायत नीति, नियम, नियमावली र योजना अनुरुप विपद् व्यवस्थापनका गतिविधिहरु संचालन गरिने बताउनुभयो ।
आइसेट नेपाल र डिसिए नेपालले पनि चाँगुनारायण नगरपालिकामा विपद् व्यवस्थापनका कार्यक्रम तथा गतिविधिहरु संचालनको लागि आर्थिक र प्राविधिक सहयोग गर्दै आएको बताउँदैं उहाँले यस वर्ष मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० अनुरुप गतिविधिहरु संचालन गरेको कारणले मनसुनजन्य विपद् रोकथाम तथा न्यूनीकरणका कार्यहरु प्रभावकारी रुपमा सञ्चालन भएकाले कम क्षती भएको जानकारी दिनुभयो ।


कार्यक्रममा विपद् र विपद्का शब्दावली, विपद् व्यवस्थापन चक्र, विपद् र विकास, स्थानीय विपद्हरु, रोकथाम र जोखिम न्यूनीकरणका उपायहरु, चाँगुनारायण नगरपालिकाको विपद् व्यवस्थापनमा गरेका प्रयासहरु, हालैको मनसुनमा नगरपालिकाले गरेको प्रतिकार्य लगायत गरिबी, असमानता र भेदभावका कारण बढ्ने प्रकोप जोखिमका कारण र परिणामका बारेमा छलफल गरिएको चाँगुनारायण नगरपालिकाका विपद् विज्ञ एवं परामर्शदाता दिनेश थापाले बताउनुभयो ।


अभिमुखिकरण कार्यक्रमहरु वडा नं १ को चाँगुनारायण मा.वि, २ को आजाद मा.वि, ३ को वडा कार्यालय (कृषक महिला समुह), ४ को दोलागिरी मा.वि, ५ को राधाकृष्ण मा.वि, ६ को वडा कार्यालय(महिला समुह), ७ को बागेहिणी मा.वि र ८ को सरस्वती मा.वि थाकलमाथमा सञ्चालन गरिएको थियो ।
अभिमुखिकरण कार्यक्रममा परामर्शदाता थापा, प्रशिक्षकहरु दिवाकर पौडेल, ऋषि खड्का तथा राजकुमार लम्सालले सहजीकरण गर्नुभएको थियो ।