मध्यपुर थिमिमा डेंगी नियन्त्रण अभियान

भक्तपुर, असोज २५
मध्यपुर थिमि नगरपालिकाले बिहिवारबाट डेंगी नियन्त्रण अभियान शुरु गरेको छ । पछिल्लो केही दिन यता डेंगी संक्रमण बढ्न थालेपछि नगरपालिकाले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान एवम् सचेतना कार्यक्रम गर्दै डेंगी नियन्त्रण अभियान शुरु गरेको हो ।
अभियान अन्तर्गत नगरका स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्रमार्फत स्वास्थ्यकर्मी, जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयम् सेविकाहरुको संयुक्त टोलीले स्थानीय टोल बस्तीमा भएका पानी जमेका स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्ने र सर्वसाधारणलाई लामखुट्टेबाट बच्ने उपायका साथै लामखुट्टे नियन्त्रणका उपायसहितको सन्देश दिने गरिएको नगरपालिकाका सूचना अधिकारी एवम् महाशाखा प्रमुख केशव सिलवालले बताउनुभयो । अभियान नगरका १ देखी ९ वटै वडामा सञ्चालन गरिएको छ ।


डेंगी एडिज जातको लामखुट्टेको टोकाइबाट सर्दछ । एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्छ । यसले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी हुन्छ, त्यसैले यो समयमा थप सचेत हुनुपर्छ । दिउँसो पनि लामखुट्टे भगाउने धुप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मह्लम लगाउनुपर्छ ।
डेंगीका कारण उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने, उल्टी हुने, आँखा दुख्ने, वाकवाकी लाग्ने, छालामा दाग देखिने लक्षण देखा पर्छ । डेंगी ज्वरोलाई ब्रेकबोन फिभर पनि भनिन्छ । डेंगीको लक्षण देखिनासाथ स्वास्थ्य केन्द्रमा सम्पर्क गरी स्वास्थ्यकर्मीको सल्लाह र सुझाव अनुसार उपचार शुरु गर्नुपर्छ ।


डेंगीबाट बच्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाडाहरू खोजी खोजी सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्छ । पानी राख्ने भाँडाहरु जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्नेगरी राम्ररी छोपेर राख्नुपर्छ साथै पानी जम्नसक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गर्नुपर्छ ।
कोठाभित्र लामखुट्टे भगाउने धुप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउनुपर्छ । पूरै शरीर डाक्ने लुगा लगाउनुपर्छ । काम नलाग्ने र पानी भरिनसक्ने सामानहरु जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरु पानी जम्न नमिल्ने गरी विसर्जन गर्नुपर्छ ।