मोटरसाइकलसँग ठक्कर खाएर अनियन्त्रित भएको कारको ठक्करले पैदलयात्रीको मृत्यु

भक्तपुर, असोज १८
भक्तपुरको निकोशेरामा मोटरसाइकलसँग ठक्कर खाएर अनियन्त्रित भएको कारको ठक्करले पैदलयात्रीको मृत्यु भएको छ । दुवाकोट मोडबाट पुरानो थिमितर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४१ प ३३१९नं. को मोटरसाईकल र पुरानो थिमिबाट राधेराधेतर्फ आउदै गरेको बा. ५ च. २०४९ नं. को कार एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा कार अनियन्त्रित भई बाटोमा हिडिरहेको पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
सो ठक्करबाट घाईते भएका पैदलयात्री धनुषाको जनकपुर नगरपालिका–९ घर भई हाल मध्यपुर थिमि–९ राधेराधे बस्ने ५८ वर्षिय योगराज बरालको मृत्यु भएको हो । कारको ठक्करबाट गम्भिर घाईते भएका बराललाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा त्यही उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताउनुभयो ।
सो दुर्घटनामा मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका २ दुवाकोट बस्ने २० वर्षिय मिलन कार्की समेत घाईते भएकोमा उपचारपछि डिस्चार्ज भएको पाठकले जानकारी दिनुभयो ।
प्रहरीले दुवै सवारीसाधनसहित मोटरसाइकल चालक कार्की र कार चालक मध्यपुर थिमि ६ बस्ने २९ वर्षिय अनुज प्रजापतिलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य भइरहेको जनाएको छ ।