खानेपानी आयोजनामा राजनीतिक प्रतिष्पर्धा र स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ–सांसद थापा

भक्तपुर, असोज १९
प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले खानेपानी जस्तो आयोजनामा राजनीतिक प्रतिष्पर्धा र स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभएको छ । कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिका नवनिर्वाचित पदाधिकारीहरुको शुक्रवार सम्पन्न शपथ ग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति समेत रहनुभएका सांसद थापाले उपभोक्तालाई स्वच्छ र सफा पानी उपलब्ध गराउन कार्यसमितिले योजनावद्धरुपमा सबैलाई मिलाएर राजनीतिक र व्यक्तिगत प्रतिष्पर्धा र स्वार्थभन्दा माथि उठेर काम गर्नुुपर्ने बताउनुभएको हो ।
समितिका संस्थापक उपाध्यक्ष समेत रहनुभएका थापाले भन्नुभयो, “कुनैबेला काकाकुल अवस्थामा रहेको कटुञ्जेलाई पानी खुवाउने योजनाका साथ स्वर्गीय रामेश्वर ढुंगेलको नेतृत्वमा विगतमा जुन कष्ट र समस्याका बाबजुद एकजुट भएर काम ग¥यौ, त्यसको प्रतिफल हो आजको अवस्था । त्यसैले खानेपानीमा कुनै राजनीति हुनुहुँदैन । सबै दल एकजुट भएर उपभोक्तालाई स्वच्छ र सफा पानी उपलब्ध गराउन राजनीतिक र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्छ ।”
उहाँले संस्थालाई व्यक्तिगत नभई विधिबाट सञ्चालन गर्न आग्रह गर्दै भन्नुभयो, “खानेपानी संस्थाको लागि मेरो व्यक्तिगत र सांसदको हैसियत विभिन्न सरकारी निकायमा समन्वय गरेर बजेट ल्याउन तयार छु । तपाईहरू एक भएर खानेपानीको विकासमा लाग्नुहोस ।” उहाँले उपभोक्ताले माग गरेको २४ घण्टाभित्रै धारा उपलव्ध गराउने परिपाटी विकास गर्न, जनचाहना र चुनावमा लिएका प्रतिवद्धताहरू पूरा गर्नतर्फ खानेपानीको नयाँ नेतृत्वले जानुपर्ने सुझाव समेत दिनुभयो ।
बागमती प्रदेशका सांसद किरण थापाले कटुञ्जेवासीलाई पानी खुवाउन स्व. रामेश्वर ढुंगेलले गरेको योगदान भुल्न नहुने बताउँदैं निर्वाचित नयाँ कार्यसमितिलाई खानेपानी संस्थालाई अझै अगाडि लैजाने र नमुना संस्थाको रुपमा विकास गर्नका लागि चुनौती सँगै अवसरहरु रहेको बताउनुभयो ।

खानेपानीका हरेक समस्या समाधान गर्न लाग्ने प्रतिवद्धता जनाउँदैं उहाँले केयुकेएलको पानी सूर्यविनायक नगरपालिकाका १ देखी १० वटै वडामा ल्याउन पहल गर्नुका साथै पानीको स्थायी स्रोत व्यवस्थापनमा आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।


समितिका पुर्वअध्यक्ष एवम् नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिका सभापति निशान ढुंगेलले विगतमा अनेक आरोह अवरोह र समस्या झैल्दै आजको अवस्थामा आईपुगेको खानेपानीलाई सबै एकजुट भएर थप विकास र बिस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले राजनीतिक व्यक्तिको नेतृत्वविना खानेपानीको बिस्तार सम्भव नहुने विगतको अनुभवले पनि देखाएको चर्चा गर्दै खानेपानी कार्यालयको कम्पाउण्डभित्र पुगेपछि राजनीतिक विचार र सिद्धान्त बिर्सेर काम गर्नुपर्ने सुझाव दिनुभयो ।
सूर्यविनायक नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष राजकुमार जोशीले कटुञ्जेमा तिब्र शहरीकरणसँगै बस्ती विकास भइरहेको र घर निर्माणको स्विकृती दिएपछि सडक, खानेपानी र ढलको सेवा दिनु नगरपालिकाको दायित्व पनि भएकाले खानेपानीको बिस्तारमा नगरपालिका र वडाले आवश्यक सहकार्य र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले नयाँ पाइपलाइन बिस्तार र खानेपानीलाई एक जना प्राविधिक सहयोग गर्ने विषयमा नगरपालिकाले एक हप्ताभित्र निर्णय गर्ने जानकारी समेत दिनुभयो ।
निवर्तमान अध्यक्ष श्रीकृष्ण बासुले आफ्नो नेतृत्वमा उपभोक्तालाई स्वच्छ र सफा खानेपानी निरन्तर वितरण गर्न र यसको थप बिस्तारको काममा जोड दिएको बताउँदैं सकेसम्म उपभोक्ताको गुनासो नआउने गरी काम गरेको दावी गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष प्रकाशराज ढुंगेलले निवर्तमान कार्यसमितिका पदाधिकारीसंगै सरोकारवाला सवै सँग समन्वय गरेर उहाँहरुको सल्लाह सुझावलाई ग्रहण गर्दै आगामी दिनका कार्यलाई अगाडि बढाईने बताउनुभयो ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक एवम् नेपाल बार एशोसियसन भक्तपुरका अध्यक्ष रविन्द्र प्रधानले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै शपथ ग्रहण गराउनुभएको थियो ।